×

वीरगञ्ज । संघीय सरकारले सरुवा गरेर पठाएका सहसचिव बसन्तबहादुर बोहराले बिहीबारदेखि वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका छन्।

जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने क्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव बोहरालाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको थियो।

सरकारको निर्णय भएको करिब १० दिनपछि बोहराले बिहीबार वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन्।

यसअघि गत फागुन १२ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई वीरगञ्ज महानगरपालिकामा सरुवा गरिएको थियो। तर महानगरका मेयर राजेशमान सिंहले महानगरको सहमतिविना गरिएको सरुवा निर्णयप्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्विचारका लागि पत्राचार गरेका थिए।

कँडेलको सरुवा विवाद चर्किंदै जाँदा गत वैशाख २८ गते उनी रवाना लिएर वीरगञ्ज महानगरमा हाजिर हुन पुगेका थिए। त्यसपछि जेठ ५ गते बसेको महानगरका जनप्रतिनिधिहरूको बैठकले उनलाई हाजिर हुन नदिने निर्णय गर्दै सरकारले जबर्जस्ती गरे महानगर कार्यालयमा तालाबन्दी गरी साँचो मन्त्रालयमा बुझाउने चेतावनी दिएको थियो।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर देखिएको विवादका बीच सहसचिव बसन्तबहादुर बोहराले कार्यभार सम्हालेसँगै महानगरको प्रशासनिक कामकाज थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

Back to top