फाइल तस्बिर ।
वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलवार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो भने नयाँ दर आज बिहान १२ बजेदेखि लागू भएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ ।
मूल्य घटेसँगै तेस्रो वर्गमा पर्ने स्थानहरू काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेल १९५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै पहिलो वर्गमा पर्ने स्थानहरू वीरगञ्ज, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल १९४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १९२ रुपैयाँ ५० पैसा तोकिएको छ भने दोस्रो वर्गमा पर्ने स्थानहरू सुर्खेत र दाङमा पेट्रोल १९६ रुपैयाँ र डिजेल तथा मट्टितेल १९४ रुपैयाँ कायम गरिएको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १,५६६ डलर कायम गरिएको छ । पोखराका लागि १,१०० डलर र भैरहवाका लागि १,०८५ डलर प्रतिकिलोलिटर तोकिएको छ ।
खाना पकाउने १४.२ केजीको एलपी ग्यास अब प्रतिसिलिन्डर २,०६० रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि यसको मूल्य २,१६० रुपैयाँ थियो ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नुका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।