×

वीरगञ्ज । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको मुख्य प्रवेशद्वार अगाडि शंकास्पद रूपमा पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।

उक्त गाडीको दर्ता हाल सानिमा बैंकको नाममा रहेको भए पनि रौतहटको गरुडा नगरपालिकाका प्रमुख **कन्थमणि प्रसाद कलवार (जयसवाल)**ले गाडी आफ्ना छोरा रवि जयसवालले नै चलाउँदै आएको पुष्टि गरेका छन्।

उनका अनुसार करिब एक महिनाअघि मात्रै गाडी खरिद गरिएको हो। बैंकको ऋणसम्बन्धी प्रक्रिया अझै पूरा नभएकाले गाडीको दर्ता बैंककै नाममा रहेको र व्यवहारमा भने रवि जयसवालले प्रयोग गर्दै आएका छन्।

रवि जयसवाल केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका हुन्। रास्वपाले उनलाई गत जेठ ८ गते केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरेको थियो। उनी तत्कालीन महामन्त्री भूपदेव शाहको प्रस्तावमा उक्त जिम्मेवारीमा नियुक्त भएका थिए।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालय अगाडि सडक अवरुद्ध हुने गरी तीनवटा गाडी पार्क गरिएका थिए। तीमध्ये बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी रवि जयसवालले प्रयोग गर्दै आएको पुष्टि भएपछि घटनाले थप चर्चा पाएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Back to top