वीरगञ्ज/रक्सौल । भारतको बिहारस्थित रक्सौल प्रहरीले एक बाइक चोरी प्रकरणमा संलग्न फरार व्यक्तिको खोजीका लागि फोटो तथा भिडियो सार्वजनिक गर्दै सूचना दिनेलाई १० हजार भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
रक्सौल प्रहरीले सामाजिक सञ्जालमार्फत शंकास्पद बाइक चोरको फोटो र भिडियो सार्वजनिक गर्दै उक्त व्यक्तिको पहिचान वा पक्राउमा सहयोग पुग्ने सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको हो।
प्रहरीले दिएको जानकारीअनुसार चोरबारे विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १० हजार भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै, सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने पनि प्रहरीले जनाएको छ।
रक्सौल प्रहरीले सर्वसाधारणलाई अपराध नियन्त्रणमा सहयोग गर्न अपिल गर्दै शंकास्पद व्यक्तिबारे कुनै पनि जानकारी भए नजिकको प्रहरी कार्यालय वा रक्सौल प्रहरीसँग तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रहरीका अनुसार नागरिकको सहयोगबाट फरार अपराधीलाई पक्राउ गरी चोरीका घटनामा नियन्त्रण गर्न थप सहज हुने विश्वास गरिएको छ।