बारा । मिटरब्याज पीडितसँग प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बाराको निजगढ पुगेका छन्। न्यायको माग गर्दै जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितहरूसँग छलफल गर्न उनी निजगढ पुगेका हुन्।
गृहमन्त्री गुरुङ बुद्ध एयरको विमानमार्फत सिमरा विमानस्थल पुगेपछि स्थलमार्ग हुँदै निजगढ पुगेका थिए। निजगढ पुगेलगत्तै उनले ‘पैदल न्याय मार्च’मा सहभागी पीडितहरूसँग छलफल सुरु गरेका छन्।
मिटरब्याज पीडितहरू सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा सहभागी छन्। उनीहरूको टोली सोमबार साँझ निजगढ पुगेको थियो।
मंगलबार बिहान पुनः पैदल यात्रा सुरु गर्ने तयारीमा रहेका आन्दोलनकारीहरूलाई गृहमन्त्री भेट्न आउने जानकारी स्थानीय प्रहरीले दिएपछि उनीहरूले यात्रा स्थगित गरी निजगढमै बसेर मन्त्रीसँग छलफल गरेका हुन्।
गृहमन्त्री र पीडितबीचको छलफलमा मिटरब्याजसम्बन्धी समस्या, पीडितका माग तथा सरकारका आगामी कदमबारे कुराकानी भएको जनाइएको छ। छलफलको विस्तृत निष्कर्ष भने सार्वजनिक हुन बाँकी रहेको छ।