एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्व महामन्त्री मनिष झाले विभिन्न सञ्चार गृह र नेताहरूको निवासअगाडि शङ्कास्पद रूपमा गाडी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । उनले उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
बुधवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्नु गलत भएको बताएका हुन् । “सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,” उनले लेखेका छन् ।
उनले राज्यको दायित्व नागरिकका चिन्ता र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै राज्य स्वयंले नागरिकलाई त्रसित बनाउने कार्य गर्न नहुने बताए । “राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैँ थप आतङ्कित बनाउने होइन,” उनको भनाइ छ । यस्ता गतिविधिलाई उनले ‘बचपना’ र ‘स्तरहीन अभ्यास’को संज्ञा दिँदै यस प्रकारका कार्यबाट सुशासन सम्भव नहुने टिप्पणी गरेका छन् ।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन, काँग्रेस सभापति गगन थापाको निवास तथा भाटभटेनी अगाडि शङ्कास्पद रूपमा गाडीहरू पार्किङ गरिएका थिए । सवारीसाधनलाई ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाई कार्यालय लगेको थियो । जथाभाबी पार्किङ गरेको आरोपमा ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तिराएर सम्बन्धित व्यक्तिलाई गाडी फिर्ता दिइएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि सरकारको संलग्नता हुन सक्ने आशङ्का व्यक्त गर्दै आलोचना गरेको छ । काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यसलाई स्वतन्त्र प्रेस र विपक्षी नेतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
यद्यपि सत्तारूढ दल रास्वपाले भने घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताएको छ । नेता झाले लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सञ्चारमाध्यमको काममा अवरोध पुर्याउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेका छन् ।