×

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहमाथि तीव्र आलोचना गर्दै उनलाई ‘नेपाली हिट्लर’को संज्ञा दिएका छन् । उनले सरकारको कार्यशैली अकार्यकुशल भएको आरोप लगाउँदै जनतालाई गरिएका प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको दाबी गरेका छन् ।

बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद ठाकुरले प्रधानमन्त्री साह नेतृत्वको सरकारले कर्मचारी प्रशासनमाथि अनावश्यक हस्तक्षेप गरेको र दरबन्दीमा रहेका कर्मचारीलाई हटाएर आन्दोलनको अवस्था सिर्जना गरेको आरोप लगाए ।

उनले राजनीतिक दलका कार्यालयमा हस्तक्षेप हुने, फर्निचर जलाउने तथा दलहरूमाथि निरन्तर आक्रमण भइरहेको दाबी गर्दै सरकारको कार्यशैली लोकतान्त्रिक मूल्यमान्यता विपरीत रहेको टिप्पणी गरे ।

बैठकमा बोल्दै ठाकुरले भने, “बालेन सरकारले जनतालाई दिएका आश्वासन पूरा नगर्दा देशमा निराशा छाएको छ । आत्महत्याका घटना बढेका छन् । राजनीतिक दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । नर्सिङ होम र बोर्डिङ स्कुल बन्द गरिए यसको परिणाम भयावह हुनेछ । सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ । सङ्गठनहरूमाथि आक्रमण गरेर अब के गर्न खोजिएको हो? नेपाली डिक्टेटर, बालेन नेपाली हिट्लर भइसकेका छन् । उनले जे बोल्छन् त्यही ठिक हुन्छ, जे गर्छन् त्यही कानुन हुन्छ ।”

शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्थाबारे पनि उनले चिन्ता व्यक्त गर्दै निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होममाथि भइरहेको सरकारी कडाइका कारण लाखौँ विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीको भविष्य प्रभावित हुन सक्ने बताए ।

सांसद ठाकुरले सरकारलाई लोकतान्त्रिक मूल्य, विधिको शासन र निजी क्षेत्रसँग सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्दै जनताको अपेक्षा अनुरूप काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

Back to top