×

वीरगञ्ज । गृहमन्त्री सुधन गुरुङ ले आज बारा जिल्लास्थित प्रमुख औद्योगिक प्रतिष्ठानहरूको स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले जगदम्बा स्टिल, उलास उद्योग लगायतका विभिन्न उद्योगको निरीक्षण गर्दै उद्योगबाट निस्कने रासायनिक पदार्थ (केमिकल), औद्योगिक प्रदूषण तथा त्यसले वातावरण र स्थानीय जनस्वास्थ्यमा पार्न सक्ने प्रभावबारे जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले उद्योगहरूमा अपनाइएका वातावरणीय मापदण्ड, फोहोर तथा रासायनिक पदार्थ व्यवस्थापन प्रणाली, धुवाँ तथा प्रदूषण नियन्त्रणका उपायबारे सम्बन्धित उद्योग व्यवस्थापनसँग छलफल गर्नुभएको थियो। साथै, उद्योग सञ्चालनका क्रममा वातावरणीय कानुन र मापदण्डको पूर्ण पालना गर्न आवश्यक रहेकोमा जोड दिनुभएको बताइएको छ।

स्थानीय बासिन्दाले औद्योगिक प्रदूषणका कारण सिरिसिया नदि वातावरण तथा स्वास्थ्यमा पर्न सक्ने असरप्रति चासो व्यक्त गर्दै आएको सन्दर्भमा गरिएको यस अनुगमनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

गृहमन्त्री गुरुङले उद्योग सञ्चालनसँगै वातावरण संरक्षण र जनस्वास्थ्यको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिनुभएको जनाइएको छ।

अनुगमनमा सुरक्षा निकायका अधिकारी, सम्बन्धित सरकारी निकायका प्रतिनिधि तथा उद्योग व्यवस्थापन पक्षको समेत सहभागिता रहेको थियो।

Back to top