×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । सामाजिक सञ्जालमा केही दिनअघि भाइरल बनेको आफ्नो निजी भिडियोपछि चर्चामा आएकी पर्साको वीरगञ्ज निवासी टिकटक क्रिएटर किरण साहले आफू खराब व्यक्ति नभएको दाबी गरेकी छन् । उनले प्रेम गर्नु कुनै गलत कुरा नभएको भन्दै आफ्नो चरित्रमाथि नियोजित रूपमा आक्रमण गरिएको आरोप लगाएकी छन् ।

काठमाडौँमा प्रसारित एक टेलिभिजन कार्यक्रममा बोल्दै साहले भाइरल भिडियोका आधारमा आफूलाई गलत रूपमा चित्रित गरिएको बताइन् । उनले आफूले कुनै गल्ती नगरेको र एउटा भिडियोका आधारमा आफ्नो सम्पूर्ण व्यक्तित्वको मूल्याङ्कन गर्न नहुने धारणा राखिन् ।

कार्यक्रमका क्रममा उनले हिन्दु धर्मकी आस्थाकी प्रतीक सीतामाथि पनि चरित्रमाथि प्रश्न उठाइएकाले वनवास भोग्नुपरेको प्रसङ्ग उल्लेख गर्दै आफू पनि यस्तै प्रकारको चरित्रहत्याको सिकार भएको बताइन् ।

“मैले कुनै गल्ती नै गरेको छैन । एउटा त्यो भिडियोले मलाई जज गर्न सक्नुहुन्न । सीता माताले पनि चरित्रहत्याको सामना गर्नुपरेको थियो । म पनि खराब छैन, त्यसैले आफूलाई किन खराब मानूँ ? म अरू केटीजस्तो मुख लुकाएर बस्दिनँ, म लड्छु,” उनले कार्यक्रममा भनिन् ।

साहले आफूले विश्वास गरेको र माया गरेको युवककै कारण आफ्नो जीवन प्रभावित भएको दाबी गर्दै आर्थिक रूपमा समेत सहयोग गरेको व्यक्तिबाट आफूलाई धोका भएको बताइन् । उनले आफूलाई बदनाम गराउने प्रयासमा प्रभावशाली व्यक्तिहरूको समेत संलग्नता रहेको आरोप लगाइन्, यद्यपि त्यससम्बन्धी थप प्रमाण भने सार्वजनिक गरेकी छैनन् ।

उनले समाजका विभिन्न विषयमा आवाज उठाउँदा पनि आफूलाई नै गलत देखाउने प्रयास भएको गुनासो गर्दै आफ्नो पक्ष स्पष्ट पार्न सार्वजनिक रूपमा आएको बताइन् ।

भाइरल भिडियो र त्यसपछिका घटनाबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेका बेला किरण साहको यो अभिव्यक्तिले नयाँ बहस सिर्जना गरेको छ । हालसम्म उनले लगाएका आरोपबारे सम्बन्धित पक्षबाट कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

Back to top