वीरगञ्ज । वीरगञ्जस्थित गहवामाई मन्दिर आसपास बिक्री वितरण हुँदै आएका अखाद्य लड्डु, पेडा तथा अन्य मिठाईबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायले बुधबार संयुक्त रूपमा बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा करिब २५ केजी गुणस्तरहीन लड्डु नष्ट गरिएको छ भने खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गर्ने तीन वटा फर्मलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी सम्मिलित संयुक्त टोलीले गहवामाई मन्दिर आसपास रहेका लड्डु तथा मिठाई पसल र उत्पादन केन्द्रहरूको स्थलगत निरीक्षण गरेको हो।
अनुगमनका क्रममा केही पसल तथा उद्योगमा उत्पादन स्थल (किचेन) को सरसफाइ सन्तोषजनक नरहेको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको भेटिएको टोलीले जनाएको छ।
निरीक्षणपछि तीन वटा फर्मबाट करिब २५ केजी लड्डु जफत गरी नष्ट गरिएको छ। साथै खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई तत्काल सुधार गर्न निर्देशन दिँदै जनही २० हजार रुपैयाँ जरिवाना गरिएको हो।
जरिवाना गरिएका फर्महरूमा वीरगञ्ज महानगरपालिका–६, माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११, रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार रहेका छन्। यसैगरी, माईस्थानस्थित आस्था मिष्ठान भण्डारमा रहेको गुणस्तरहीन लड्डु पनि जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
गहवामाई मन्दिरमा वर्षभरि नै पूजाआजा तथा धार्मिक गतिविधिका लागि हजारौं भक्तजनको आवागमन हुने भएकाले त्यहाँ बिक्री हुने प्रसाद तथा मिठाईको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
स्थानीय उपभोक्ताहरूले धार्मिक आस्थासँग प्रत्यक्ष जोडिएका स्थानहरूमा बिक्री हुने खाद्य वस्तुको नियमित, प्रभावकारी र निरन्तर अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार चाडपर्व र मेलाको समयमा मात्र होइन, वर्षभरि नै अनुगमनलाई निरन्तरता दिइए उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित हुनुका साथै गुणस्तरीय खाद्य वस्तुको बिक्री वितरणमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गरेका छन्।