×

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले वीरगञ्जमा सञ्चालन गरेको दुई छुट्टाछुट्टै कारबाहीमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान तथा अवैध रूपमा भारततर्फ लैजान लागिएको ठूलो परिमाणको स्याउ बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६, फुलबारी टोलस्थित उषा अधिकारीको तीनतले पक्की घरमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरका ११ वटा कोठाबाट भारतबाट भन्सार छली गरी ल्याइएका २,८४८ मिटर टेबल पोस (टेन्ट टेबलमा प्रयोग हुने कटन कपडा), १३ पिस रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य रु. ३ लाख ५० हजार रहेको छ। उक्त सामान आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, मिति २०८३ असार ३० गते राति करिब ९ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार टोल क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको गाडी मोबाइल टोलीले सीमा इलाकाबाट भारततर्फ अवैध रूपमा लैजाने तयारी अवस्थामा रहेको ३३ कार्टुन (६२० किलोग्राम) स्याउ बरामद गरेको छ।

बरामद स्याउको अनुमानित मूल्य रु. ६३ हजार ५०० रहेको जनाइएको छ। उक्त स्याउ आवश्यक कारबाहीका लागि २०८३ असार ३१ गते वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको छ। सीमा क्षेत्रमा यस्ता अवैध गतिविधिविरुद्ध नियमित रूपमा अपरेशन जारी रहने पनि उनले जानकारी दिए।

Back to top