×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–२३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण बन्द रहेको ढल निकास (नाला) अन्ततः खुलाइएको छ। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको पहलमा नाला सञ्चालनमा आएपछि वर्षायाममा हुने जलमग्नताको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

स्थानीयका अनुसार पानी निकास हुने होम पाइप जाम भई बन्द भएपछि वर्षाको पानी सहज रूपमा बग्न नसक्दा सामान्य वर्षामै सडक तथा बस्ती जलमग्न हुने समस्या थियो। लामो समयदेखि समाधान हुन नसकेको समस्याका कारण स्थानीयवासीले कार्यवाहक नगर प्रमुख आलमसमक्ष नाला खुलाइदिन लिखित निवेदन दिएका थिए।

जनगुनासो प्राप्त हुनासाथ कार्यवाहक नगर प्रमुख आलमले महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए। निर्देशनपछि सरसफाइ शाखाको टोली नगर प्रहरीसहित घटनास्थल पुगेको थियो।

महानगरपालिकाका अनुसार जेसिबी (JCB) र स्विपरको प्रयोग गरी बन्द रहेको होम पाइप तत्काल खुलाइएको हो। नाला सञ्चालनमा आएपछि वर्षाको पानी सहज रूपमा निकास हुन थालेको महानगरले जनाएको छ।

चार वर्षदेखि समाधान हुन नसकेको विवाद दुई दिनमै टुंगिएपछि स्थानीयवासीले कार्यवाहक नगर प्रमुख आलमप्रति आभार व्यक्त गरेका छन्। स्थानीयका अनुसार समयमै पहल भएको भए यो समस्या धेरैअघि नै समाधान हुन सक्थ्यो।

एक स्थानीयले भने, "यदि नेतृत्वले चाहेको भए चार वर्षअघि नै यो विवाद समाधान हुन सक्थ्यो। इच्छाशक्ति भए काम गर्न धेरै समय लाग्दैन भन्ने कुरा कार्यवाहक नगर प्रमुखले दुई दिनमै देखाइदिनुभएको छ।"

यसअघि सामान्य वर्षामै सडक डुबानमा पर्ने, आवतजावतमा कठिनाइ हुने तथा स्थानीयले सास्ती भोग्नुपर्ने अवस्था रहेको थियो। अहिले नाला सफा गरी ढल निकास सुचारु भएपछि दीर्घकालीन रूपमा डुबानको समस्या कम हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

Back to top