×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज। पर्सा जिल्लामा घरेलु हिंसाका घटना चिन्ताजनक रूपमा देखिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको असार महिनाको प्रगति विवरणअनुसार जिल्लाभरबाट घरेलु हिंसासम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन्।

प्रहरीको तथ्याङ्कले पारिवारिक असमझदारी, दाम्पत्य विवाद तथा पारिवारिक उत्पीडनका कारण ठूलो सङ्ख्यामा पीडितहरू कानुनी उपचारका लागि प्रहरीको शरणमा पुग्ने गरेको देखाएको छ। यद्यपि, दर्ता भएका सबै ५८ वटा उजुरी आपसी सहमतिमार्फत मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

असार महिनामा घरेलु हिंसासम्बन्धी कुनै पनि मुद्दा अदालतसम्म नपुगेको तथ्याङ्कले देखाएको छ। प्रहरी प्रशासनले सकेसम्म पारिवारिक सम्बन्ध जोगाउने उद्देश्यले कानुनी कारबाहीभन्दा पहिले मेलमिलापलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार घरेलु हिंसाका उजुरी प्राप्त भएपछि दुवै पक्षलाई छलफलमा राखेर विवाद समाधान गर्ने प्रयास गरिन्छ।

“हाम्रो पहिलो प्राथमिकता नै मिलापत्र गराउने हो,” डीएसपी मल्लले भने, “जिल्ला प्रहरी कार्यालयका साथै मातहतका इलाका र वडा प्रहरी कार्यालयमार्फत आवश्यक समन्वय गरी दुवै पक्षबीच आपसी सहमति कायम गराउँदै आएका छौँ।”

उनका अनुसार दर्ता भएका अधिकांश उजुरी श्रीमान–श्रीमतीबीचको असमझदारीसँग सम्बन्धित रहेका छन्।

पालिकागत विवरणअनुसार घरेलु हिंसाका उजुरी सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाबाट परेका छन्। असार महिनामा वीरगञ्ज महानगरपालिकाबाट मात्रै ३५ वटा उजुरी दर्ता भएका छन्।

त्यसैगरी बहुदरमाई नगरपालिकाबाट ४ वटा, पर्सागढी र पोखरिया नगरपालिकाबाट २–२ वटा उजुरी परेका छन्। गाउँपालिकातर्फ जगरनाथपुरबाट ४, बिन्दवासिनी र सखुवाप्रसौनीबाट ३–३, पकाहामैनपुर र पटेर्वासुगौलीबाट २–२ तथा कालिकामाई गाउँपालिकाबाट १ वटा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

यता ठोरी, छिपहरमाई, धोबिनी र जिराभवानी गाउँपालिकाबाट भने असार महिनाभर घरेलु हिंसासम्बन्धी कुनै पनि उजुरी दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ।

प्रहरीले घरेलु हिंसाका घटनामा कानुनी प्रक्रियासँगै परिवारभित्र संवाद र समझदारी कायम गरी सम्बन्ध सुधार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ। साथै, हिंसा वा उत्पीडनका घटना लुकाएर बस्नुभन्दा तत्काल प्रहरी वा सम्बन्धित निकायमा जानकारी गराउन सबैलाई आग्रह गरेको छ।

Back to top