×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

अशोक यादब - रौतहट । भूमि प्रशासन कार्यालय गौरमा दलाली, बिचौलियाको चलखेल तथा घुसखोरी मौलाएको भन्दै सेवाग्राहीहरूले गम्भीर आरोप लगाएका छन्। कार्यालय प्रमुखदेखि विभिन्न फाँटका कर्मचारीसम्मले आर्थिक लेनदेनबिना सर्वसाधारणको काम नगर्ने गरेको उनीहरूको गुनासो छ।

सेवाग्राहीहरूका अनुसार कार्यालयभित्र दुई समूह सक्रिय रहेको देखिन्छ। एक समूह कानुन र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाह गर्न चाहने पक्षमा रहेको बताइन्छ भने अर्को समूह आफन्त, बिचौलिया र पहुँचवालाको काम कानुनविपरीत भए पनि सहज रूपमा गराइदिने पक्षमा सक्रिय रहेको आरोप छ।

उनीहरूका अनुसार जिल्ला अदालतबाट भएको बन्डा छुट्याउने प्रक्रिया, मिलापत्र बमोजिमको दाखिल–खारेज, नामसारी, मोही लगत कट्टा, राजीनामा, दानबक्सपत्र, दृष्टिबन्धक तथा जग्गा रजिस्ट्रेसनलगायतका काममा अनावश्यक झन्झट सिर्जना गरिने गरेको छ। वडा कार्यालय, नगरपालिका तथा अदालतबाट आवश्यक सिफारिस र कागजात पूरा गरेर पुगे पनि कर्मचारीको नियतअनुसार नभए कुनै न कुनै त्रुटि देखाउँदै फाइल रोक्ने गरिएको सेवाग्राहीहरूको आरोप छ।

स्थानीयहरूका अनुसार घुस नदिने सेवाग्राहीलाई कानुनी प्रक्रिया र प्राविधिक कारण देखाउँदै पटक–पटक दुःख दिने, तर बिचौलिया वा लिखन्दासमार्फत रकम पुगेपछि सोही काम सहज रूपमा सम्पन्न हुने गरेको अवस्था रहेको छ। विशेषगरी मोहीयानी फाँट, नामसारी शाखा तथा जग्गासम्बन्धी विभिन्न सेवामा आर्थिक चलखेल व्यापक रहेको उनीहरूको दाबी छ।

एक सेवाग्राहीले नाम उल्लेख नगर्ने सर्तमा भने, "पैसा नदिए कानुनका अनेकौं कुरा गरेर फाइल रोकिन्छ, पैसा दिएपछि सबै प्रक्रिया मिलाइन्छ।" उनका अनुसार कार्यालयमा पुग्ने धेरै सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिचौलियाको सहारा लिन बाध्य हुने अवस्था रहेको छ।

सेवाग्राहीहरूले भूमि प्रशासन कार्यालयमा भइरहेको भनिएको अनियमितता, घुसखोरी र बिचौलियातन्त्रबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै कार्यालयभित्र मौलाएको भनिएको भ्रष्टाचार अन्त्य गरी पारदर्शी, जवाफदेही र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।

Back to top