×

यमनका इरान–समर्थित हुथी विद्रोहीहरूले साउदी अरबसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै समुद्री नाकाबन्दी घोषणा गरेकै अवस्थामा साउदी कच्चा तेल बोकेका दुई ठुला तेल ट्याङ्कर सफलतापूर्वक बाब अल–मन्देब स्ट्रेट पार गरेका छन्।

जहाजहरूको वास्तविक समय ट्र्याकिङ गर्ने संस्था मरिन ट्राफिकका अनुसार सिंगापुरको झण्डा बोकेको सिन लङ्ग याङ्ग र हङकङको झण्डा बोकेको कस्न्यू लेक नामका दुई ट्याङ्कर अहिले यमनको तट नजिक एडेनको खाडी हुँदै यात्रा गरिरहेका छन्। यी दुवै जहाजमा गरी करिब ४० लाख ब्यारेल साउदी कच्चा तेल रहेको बताइएको छ।

यसै साता हुथी समूहले साउदी जहाजहरूविरुद्ध समुद्री नाकाबन्दी लागू गर्ने घोषणा गरेको थियो। बिहीबार उनीहरूले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरेका थिए, जसलाई उक्त नाकाबन्दी कार्यान्वयनको पहिलो प्रयासका रूपमा हेरिएको छ। 

समुद्री सुरक्षा जोखिम विश्लेषण गर्ने संस्था मारिस्क्सले हुथीहरूले साउदीसँग सम्बन्धित जहाज भन्ने परिभाषा अझ फराकिलो बनाउन सक्ने चेतावनी दिएको छ। यसअन्तर्गत साउदी बन्दरगाहमा जाने, साउदी तेल बोक्ने वा साउदी व्यावसायिक हितसँग सम्बन्धित विदेशी झण्डावाहक जहाजहरू पनि निशानामा पर्नसक्ने सम्भावना रहेको बताइएको छ।

सुरक्षा जोखिम बढे पनि बेलायतको यूके मरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ)का अनुसार लाल सागर र बाब अल–मन्देब स्ट्रेट हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवागमन हालसम्म सामान्य रूपमा जारी रहेको छ। 

यूकेएमटीओले क्षेत्रीय स्रोतहरूलाई उद्धृत गर्दै इरानले हुथी समूहलाई पश्चिम एसियामा तनाव थप बढेमा लाल सागरको तेल मार्ग बन्द गर्न तयार रहन निर्देशन दिएको जानकारी पनि दिएको छ।

Back to top