×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई वीरगञ्ज महानगरपालिकाको परिषद् बैठकबाट प्रहरीले पक्राउ गरेको घटनाप्रति विरोध जनाइएको छ। पक्राउलाई जननिर्वाचित प्रतिनिधिमाथिको अन्यायपूर्ण कदम भन्दै तत्काल रिहा गर्न माग गरिएको छ।

पक्राउपछि पनि वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी, कार्यवाहक मेयर इतेहाज आलम तथा अन्य वडाध्यक्षहरूले कुनै प्रतिक्रिया नजनाएको भन्दै विभिन्न टिप्पणी भइरहेका छन्।

वडाध्यक्ष चतुर्वेदीको पक्राउलाई लिएर जारी संयुक्त वक्तव्यमा उनलाई तत्काल रिहा गर्न माग गरिएको छ। माग सम्बोधन नभए साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिइएको छ। संयुक्त वक्तव्य सार्वजनिक भएपछि उक्त विषय आमजनमानसमा पनि चर्चा र चासोको विषय बनेको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले भने, "हाम्रो प्रवक्ता डीएसपीसँग कुरा गर्नुहोस्, मलाई केही थाहा छैन," भन्ने प्रतिक्रिया दिएका छन्।

समाचार तयार पार्दासम्म वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गर्नुको कारणबारे जिल्ला प्रहरी कार्यालयबाट आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

Back to top