श्रेयज सुवेदी :
पसाह खोला पारी मधुवनको फाँटतिर आकाश रातो छ । घाम उदाइसकेको छैन । तर, सुनरीदेवीको अनुहारमा १२ बजेको छ । घरको सँघार नाघ्न अक्मकिने उनको पाइलाले, दुई शरीर बोकेर आज गाउँ छोड्नु छ । चैतमासको कालो निलो बादल जस्तै आत्तिएको अनुहार र आठ महिने छोरो बोकेर, सडक छेउमा ऊ टाटासुमो कुर्दै छे ।
छोरोको महिना दिनदेखिको ज्वरो निको पार्न स्थानीय स्वास्थ्य चौकीले सकेन । कलैया वीरगञ्जका अस्पतालहरूको पुर्जी–औषधिको झोला, बच्चाको तौलभन्दा भारी भैसक्यो । उसको दाइ काठमाडौंमा प्रेसर कुकर बनाउने काम गर्छ ।
'तु बौवा के लेके हिया आब । सब ठिक हो जाइ' भन्ने दाइको बचन पछ्याउँदै ऊ काठमान्डु जाँदैछे । लाग्छ पछ्याउनु उसको नियती हो । उसलाई काठमान्डु, मान्छे टाढा बनाउने ठाँउ जस्तै लाग्छ । जहाँबाट छट्टु एक वर्ष पहिले साउदीको लागि उडेको थियो । सारीको सप्को ओठले च्याप्दै गहभरी भएका आँशु उसले आफ्नै हातले पुछिदिएको थियो ।
'भग्वान राम के गंगा पार कराएवाला केवट जात के बानी । तुहार जीवनके नैया भि हमहु पार कराएम,' छट्टुको यस्तै मिठा कुराको लहरा समाउँदै आठ कक्षा पढ्दै गर्दा, सुनरीले भागी बिहे गरी । आफूभन्दा तल्लो जातको पासवान केटी बिहे गरेको भनी छट्टुको परिवारले स्वीकार गरेन । जैतापुर छोडेर उनीहरू कलैया बस्न थाले । छट्टु मोटरसाइकल वर्कसपमा मिस्त्रीको काम गर्थ्यो । उसको नङमा अड्किएको मोबिलको कालो, सुनरी आफ्नै हातले सफा गरिदिन्थी । एउटा खाट केही थान भाडा र स्टोभसँग मात्र पनि उनीहरूको जीवन चलेकै थियो ।
घडीका सुइहरू सधैसँगै नभए जस्तै, समयले मान्छेलाई पनि सधै सँगै हुन नदिने रहेछ । भोलिको उज्यालो खोज्न मन अध्यारो बनाउँदै छट्टु बिदेसियो । र सुनरी उत्तरझिटकैयामा कसैको घरमा बहालमा बस्न थाली ।
कलैया पिलवाको कालोपत्रे सडकमा सुमो आफ्नै रफ्तारमा कुद्दै छ । छट्टुको पसिनाले एम्बुलेन्सको साइरन किन्न सकेन । छोरोको तातो शरीरले सुनरीको डरलाई अझै रातो बनाउँदैछ । अन्जान पुरुषहरूसँग अन्तिम सिटमा छोइएर बस्नु पर्दाको अफ्ठ्यारो, सारीको घुम्टोको झुकावले बताउँदैछ । आफ्नो छेउमा झल्झली उसले छट्टुलाई याद गरी ।
घरबाट भागेर लहान जाँदा, डराएको उसको अनुहार देखेर हात समाउँदै 'कुछ्छो नाहोई रे पग्ली, हम बानी नु' भनेको सम्झिई । उसलाई आफ्नो शीर छट्टुको काँधमा अडेस लगाउन मन लाग्यो । आफ्नो काखको बच्चाको तातो उस्को काखमा सारीदिन मन लाग्यो ।
झ्यालबाहिर संसार गाडीसँगै बग्दैछ । तर, उसको मन पोखरी जस्तै जमेको छ । ओढ्नीभित्र लुकाएर पटक-पटक बच्चालाई दुध खुवाउँदै छे । अन्जान हेराइको अफ्ठ्यारो ओढ्नीको बुट्टाको हरेक कोठामा देख्न सकिन्छ । असहजता र बच्चाको चिन्ताले, गाडी र समयभन्दा पहिला, उसलाई काठमान्डु पुग्न मन छ ।
भिमफेदीमाथि जुरिखेतको हावा चिसो लाग्दै छ । बाउलाभित्र लुकेको छोरोको हात छाम्छे, चिसो लाग्छ । टाउको छाम्छे चिसो लाग्छ । खुट्टा छाम्छे चिसो लाग्छ । छातीमाथि हात राख्छे, धुकधुकी छैन । निधार छाम्छे चिसो लाग्छ । नाक र ओठमाथि औला राखी सास छाम्छे, सास छैन । उ चिसो हुन्छे । जुरिखेतको हावा भन्दा पनि चिसो । हड्बडाएका आँखा र लरबराएका हातले बच्चालाई चारैतिर छाम्छे, हल्लाउछे । छातीमा टास्छे, गाला दल्छे, निधार जोड्छे, नाक जुदाउछे र जवाफमा शून्यता पाएपछि डाको छोडेर रुन्छे ।
सार्वजनिक ठाँउमा रुदा सुक्सुकाउनु पर्ने नियम उसले जानेकी छैन । छोराको नाम राखेको भए, नाम लिदै रुन्थी होला । तर उसले छोराको नाम पनि राख्न भ्याएकी थिइन । बिना नाम नै संसार छोड्नेहरू यमराजको सूचीमा कुन नामले चढाइन्छ होला ?
लास बोकेर यात्रा गराउनको लागि त्यो सुमो कुनै शव बहान थिएन । सुनरी कसरी घर पुग्ली भनेर सोच्नको लागी अरु यात्रुहरू उसका आफन्त थिएनन् । घुम्टोले निधार ढाकिएको शरीर, हातमा छोराको लास र केही थान कपडा बोकेको जेब्रा झोलासहित बाटो छेउमा उ अन्यौलग्रस्त उभीरही । केही समयसम्म उसका आँखा होसमा आएनन् । बाटो भएर बग्ने थुप्रै जिज्ञासु हेराइहरू उसले महसुस पनि गरिन ।
जब होस आयो उसलाइ हिजोले तान्यो । छुटीजाने मान्छेको सम्झना लिन, जानु पर्ने ठाँउ बिगत नै हो । व्यथा लागेको एक्लो शरीर बोकेर वीरगञ्जको नारायणी अस्पताल पुगेको सम्झीइ । प्रसव पीडामा छटपटाउँदा, हौसला दिन त्यहाँ छट्टुका रसिला आँखा थिएनन् । न त कुनै आफन्तको साथ । पहिलो पल्ट बच्चा काखमा लिदाको खुसी याद आयो । खुसी भएको हेरिदिने मान्छे नहुदाको दुःख याद आयो । घरबेटी दिदीले गराइ दिएको भिडियो कलमा छट्टुले पहिलो पल्ट छोरो हेरेको याद आयो ।
'बैवा बिल्कुल हमनी जैसन लागता । मु त साफा फोटोकपिए बा । जल्दी बैवाके गोद मे खेलाएम' छट्टुको खुसी उस्को कानभरी एकोहोरो शंख जस्तो बज्यो । बजिरह्यो । उ थचक्क बाटो छेउमै बसी । वरिपरिका मानिसहरू भेला भए । के भयो, घर काँ हो, किन रोएको जस्ता प्रश्नको जवाफ नआएपछि, उसको आवरण हेरेर, क्या हुवा, घर किधर छ, क्यु रुवा हे जस्ता प्रश्नहरू बर्सिन थाले ।
धेरैबेरको मौनतापछि, माउ कुखुराले चल्ला छोपे जस्तै ओढ्नीभित्र छोपीराखेको बच्चा उसले भुइमा राखिदिई । हल्ला खल्ला भयो । थुप्रै मान्छेहरू भेला भए । जात सोधियो । जमातले, यहाँ वरिपरि गाड्न नदिने र तल भिमफेदी प्रहरीसम्म पुर्याउने सल्लाह गर्यो । लासले माटो पाउन पनि जातको प्रमाणपत्र पेश गर्नुपर्छ । छातीभित्र मूर्तिको ठाँउमा मन हुन्थ्यो भने सुनरीले तेतै छोरोलाइ माटो दिन पाउथी होला । 'जानपेहेचान के नम्बर बा दिदी ?' तराइ तिरकै एक प्रहरी जवानले नम्र भएर सोधे । पैसा र टुकटुके मोबाइल हालेको थैली उसले कम्मरमा छामी । समस्याले समस्या नै तान्ने रहेछ । थैलो कतै खसिसकेछ । 'कहाँ तक पहुच्ली' भनी दाइले फोन गर्दा भर्खरै हेटौँडा कटेको थियो । निरन्तर फोन बज्दै होला । उसलाई कसैको नम्बर याद छैन ।
काठमाडौंबाट आएका सुमोहरू प्राय सबै भरि आउँछन् । निजी सवारीले लास बोकेकी आमालाई लिफ्ट दिनको लागि यो सत्ययुग हैन । 'यी ढेउवा रख्ली । एगो अटो बुलादेम् । औरी हेटौडा बसपार्क तक चल जाई । उहाँ से पिलुवा तक के बस मिली ।' प्रहरी जवानले उनको हातमा एक हजारको नोट थमाए र अटोलाइ पाँच सयमा हेटौंडा बसपार्कसम्म पुर्याउन लगाए । नोट हातमा थाम्दा, उस्को आँखामा आँसु थामिएन ।
हजारको नोट बोकेर अटो बत्तियो । फिर्तामा उस्ले एक शब्द पनि बोल्न सकिन । बेइमानी पनि लजायो होला, त्यो अटोको पाङग्रा देखेर । बस पार्क पुग्दा रातिको ८ बजेको छ । पूर्व जाने बसहरू रित्तिसकेछन् । भै दिएको भए पनि, बस चढ्नलाई हिम्मत दिने पैसा उसँग छैन । बन्द सटरको चिसो पेटीमा थचक्क बस्छे । ओढ्नी भित्रको छोरोलाइ हेर्छे । उ कहिल्यै नउठ्ने गरी निदाएको छ । गर्मी महिना भएकोले काखबाट गन्ध आउन थालिसक्यो । यो रात कसरी बित्छ उ जान्दिन । घर पुग्दा काखको छोराको हालत के होला उ जान्दिन । बिस्तारै चहलपहल सुनसान हुँदै जान्छ । अनि उसको मनमा चहलपहल बढ्न थाल्छ ।
थुप्रै प्रश्नहरूले उसलाई प्रश्न गर्छन् । उत्तरले कुनै दिशा दिन सक्दैन । उसलाई लाग्छ छोरो बोकेर घर पुग्नु असम्भव छ । अघि शौच गर्न सटर पछाडी जाँदा त्यहाँ फोहोरको थुप्रो देखेकी थिइ । त्यही थुप्रोमा छोरो सेलाउन उसका हातले मानेनन् । फोहोर फालिएको जमीन खाली थियो । उसले खुट्टामा लगाएको चाँदीको मोटो कल्लि बङ्गाएर सिधा बनाउछे । छोरोलाइ चिसो भुइमा राखेर, त्यही कल्लिले उ खाल्डो खन्न थाल्छे । रुँदी हो त, उसका पीडाको आँसुले खाल्डो भरिँदै जाँदो हो । तर, त्यो जमिन भन्दा पनि जब्बर भएर उ निरन्तर खन्दै जान्छे । खाल्डोमा राख्नुअघि छोरालाई आनन्दले हेर्छे । आँखाका गाजल पनि उस्तै छन् । कसैको नजर नलाग्न निधारमा लगाएको कालो टीका पनि उस्तै छ । छैन त केबल आमाको औला अठ्याउने उसको कोमल हात । छैन त केबल भोक लाग्दाको उसको रुवाई । फुस्किएको टोपीको तुना बाँधिदिएर, उसले छोरालाई खाल्डोका राख्छे । ९ महिना साँघुरो कोखमा बसे जस्तै साँघुरो खाडलमा बच्चा बल्लबल्ल अटाउछ ।
'एक हात के मिट्टी पापा के, एक हात के मिट्टी माइ के,' घुक्क स्वरमा दुईहातले छोरोलाई माटो दिन्छे । देउताको दिल हुन्थ्यो भने, यो दृश्य देख्दा मैनबत्ती जस्तै पग्लिन्थ्यो होला । तर अफसोस ! देउता त पत्थरको हुन्छ ।
आफ्नै कोख पुरेर कुनै घरको पेटीमा उ सुस्ताएकी छे । जिन्दगीसँग उसलाई यो दिनको आस कहिल्यै थिएन । नसोचिएका कुराहरूको श्रृंखला नै जीवन रहेछ । 'इ देख रे सुनरी, बौवाके लाल कलर बहुतै सुट करी,' घरबेटी दिदीको मोबाइलमा साउदीबाट छट्टुले देखाएको रातो जामा सम्झी । समयसँग भावना हुँदैन । नाममा रहेको चिज पनि भागमा पर्न पाउदैन । छट्टुको छट्पटीले उसलाई दुख्छ ।
'आएके बहुत मन बा, अभागा बाप हो गइनी रे सुनरी,' छट्टुले गालाभरी ग्लानी बगाएको थियो । कुकुरको एक हुल भुक्दै अगाडि बढ्छ । जमिनको थोरैभित्र गाडेको छोरो सम्झिन्छे । उसलाई झल्यास्स आएको बिभत्स दृश्य शब्दमा लेख्न सकिँदैन । हस्याङफस्याङ उ छोरासम्म पुग्छे । नङग्राले माटो खोस्रिन्छे । छोरो भेट्छे । जीउभरीको माटो टक्टकाउछे । लुगा फुकालि दिन्छे । झोलाबाट झिकेर नयाँ लुगा फेरिदिन्छे । समय थामिने गरी केही समय अंगालीरहन्छे । यति गरुन्जेल उसले आँखा झिम्याउन भ्याएकी हुन्न । एक सास मात्र फेरेकी हुन्छे ।
कसैको दुःखमा संसार कहाँ रोकिन्छ । आकाशले घाम उदाउने संकेत गर्दैछ । आज पनि सुनरीसँगै दिनभरि घामले शव यात्रा गर्नेछ । तर कतिवटा दिनको कतिवटा घामले मलामी जानु पर्ने हो, यसको हिसाब उसँग छैन । किराना पसलबाट उसले कपुर मागेकी छे । परिस्थितिले उसलाई माग्न पनि सिकाएको छ । छोरोको जामाको दुई तिरको बगल्तीमा कपुरको धुलो छ । गौर जाने बस आउँछ । बसको स्टाफले अगाडिबाट पैसा उठाउदै आउँदा, केही परसम्म पुग्ने हिसाबले उ पछाडिको सिटमा गएर बस्छे । गाडी गुड्छ । कसैलाइ शंका हुन नदिन, बच्चालाई दुध ख्वाएको जस्तो गर्छे । थुम्थुमाउदै गीत गाएर सुताएको जस्तो गर्छे । पिसाबले भिजेको सुरुवाल फेराएको जस्तो गर्छे । बसको स्टाफले भाडा माग्दा पर्स हराएको जस्तो गरी । उसको आँखामा कति पनि असजिलो छैन । स्कुलमा सीताको अभिनय गर्न लजाएर मञ्च छोडेर भागेकी उसले, मृत छोरालाई जीवित बताउन पक्का अभिनय गरी । अभिनयभित्र सत्य लुकेको संसारमा, उसको वास्तविकता पढ्न कसैले सकेनन् । बिना पैसा बस चढेकी उसलाई, तथानाम गाली बोकाएर अमलेखगंजमा उतारियो । उसको पक्षमा कोही उभिएन । किनकी बसभरि बसेका मान्छेसँग सास मात्र थियो ।
उ फेरी जसोतसो पूर्व जाने गाडी चढ्छे । हरएक सानो समयले उसलाई जब्बर बनाउँदैछ । बसमा खुट्टा राख्ने ठाँउ छैन । बच्चा बोकेकी महिला देखेर, सिटमा बसेका एक सज्जनले बच्चा बोकिदिने अनुरोध गर्छन् । उसको अनुहार एक्कासी चुक अमिलो बन्छ । बारम्बारको जिद्दीपछि डर र रिसको मिश्रणको आवाज फुट्ट । 'गाडी रोक् । रोक् गाडी,' अनुहारमा रिसको ज्वालामुखी हुन्छ । आधाबारको जंगलमा उत्रिएर भाडा नतिरी सरासर अगाडि बढ्छे ।
'कस्ता कस्ता पागल मान्छे बसमा चढ्छन् । जौँ-जौँ गुरु ।' ढोका ढप्ढपिदै बसअगाडि बढ्छ । उसका पाइला रोकिएका छैनन् । न त रिस नै । केही समयको लगातार हिडाइपछि उ टक्क उभिन्छे । जेब्रा झोलाको चेन खोल्छे र छोरालाइ झोलाभित्र हाल्छे । उसलाई अघिको घटना फेरी दोहोर्याउनु छैन । बीच जंगलमा बस रोकाउनु गाह्रो कुरा हो । तर उ सफल हुन्छे । भित्र भीड भएकाले, उसले प्रतिकृया दिनु अगाडि नै बसको स्टाफले झोला डिक्कीमा हालिदिन्छ । सुनरीलाइ घर पुग्नु छ । छोरालाइ सुरक्षित सेलाउनु छ । उ दारो मुटु गरेर भित्र भीडमा उभिन्छे । धेरै जिउहरूले छोइएर उभिँदा पनि उसको शरीर भावशून्य छ । बितेका समयले यति घटना दिए कि, बितेको छोरो सम्झिएर रुने फुर्सद, उसँग छैन । पिलुवा उत्रिँदा २ बजिसकेको छ । भाडाको रुपमा उसले अर्को खुट्टाको चाँदीको कल्लि थमाइदिन्छे । सोधिएको प्रश्नहरूको बिनाजवाफ, बाटो काटेर उ निरन्तर रफ्तारमा हिड्छे । पिलुवाबाट उत्तर झिटकैयाको दुरी करिब १२ किलोमिटर छ । उसले छेउबाट गएका गाडी ट्याक्टर बाइक केही पनि देखेकी छैन । देखेकी छ त केबल ढोकाको चाइनिज ताल्चा ।
छोराको दुई दिन लामो मलामी जान संस्कारले दिन्थ्यो दिदैन्थ्यो... थाहा छैन । कोठा पुगेपछि के हुन्छ उसले सोचेकी छैन । कोखको जन्म, काखमा बितेको बच्चालाई अन्तिम माटो दिन पाउछे पाउदिन, थाहा छैन । तर पनि उसलाई कोठासम्म पुग्नु छ । ढुङ्गाहरू सँग ठोकिदै आएकी उसलाई मान्छे देख्नु छ । सतीदेवीको लास बोकेर शिव डुल्दा, अंग खसेको ठाँउमा पीठ बनेको छ । छोरोको लास बोकेर सुनरी हिड्दा, आँसु खसेको ठाँउमा मन ढिठ बनेको छ । जितको झन्डा गाड्न धावक कुदे जस्तै, मरेको छोरो गाड्न एउटा आमा कुदेकी छे ।
२ घन्टाको पैदल यात्रापछि सुनरी गाँउ पुग्छे । उसले शव बहान बनेर छोराको शव गाँउसम्म पुर्याइ । घरबेटीको घरमा एक हुल मान्छे जम्मा भएका छन् । वर्दी लगाएका दुईचार पुलिस पनि उभिएका छन् । भीडले उसलाई हेर्छ । कतैबाट दाइ अगाडि आएर उसको दुवै कुम हल्लाउदै सोध्छ 'बौवा कहाँ बा?' । सिधा शरीर, खुला आँखा....झोला छातीसम्म उचाल्दै जवाफ फर्काउँछे 'बौवा बेग मे बा ।'
शिलापत्रबाट साभार :