×

सम्माननीय प्रधानमन्त्री ज्यू
नमस्कार !

म यतिबेला कोभिड पोजेटिभ संक्रमण भएर १५ दिनदेखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समयमा म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै बिर्सन नसकिने कहालिलाग्दो बज्रपातको सामना गर्नु पर्‍यो । किनकी कोभिडको कारण चार दिन अघि मैले बुटबलमा मेरो सहोदर दाजु गुमाएँ अनि १५ दिन अघि काकी गुमाएँ ।

मेरो परिवार यतिबेला शोकमा छ र परिवारमा थप बज्रपात नआओस् भन्ने भगवानसँग प्राथना गरेर बसेका छौं । किनकी हामीलाई भगवानप्रति विश्वास लाग्छ । तपाईंजस्तो अरु बेला धर्मलाई अफिम मान्ने र ईश्वर हुँदैनन् भन्ने तर राजनीतिक अभिष्ट पूरा गर्न राम, हनुमान सब खडा गर्ने खालको हाम्रो परिवार परेन । किनकी मसँगै मेरो परिवारमा दाजु गुमाएकी मेरी भाउजु कोभिड पोजेटिभसँगै निमोनियाले पनि ग्रस्त हुनुहुन्छ भने सुगरको बिरामी मेरो काका, केही समय अघि पित्तथैलीको अप्रेशन गरेको काकाको छोरा, बुहारी, उनका साना दुई छोराछोरी मात्र होइन, मेरो आफ्नै भिनाजु र बहिनी ज्वाईं पनि कोभिड पोजेटिभ भएर बसेका छन् । काका रोगको प्रकृतिले कतिबेला के हुन्छ भन्ने अवस्थामा हुनुहुन्छ । यो परिस्थतिमा हामी काजकिरिया पनि गर्न नसक्ने विवशताका साथ बस्न बाध्य छौं । हामी परिवारका सदस्य एक ठाउँमा बसेर दुःख साट्ने अवस्थामा पनि छैनौं । छौं त केवल परिवारमा अरु भवितव्य नआओस् भन्ने कामनामा छौं ।

सम्माननीय प्रधानमन्त्री ज्यू
कोभिडले पुत्र वियोगमा रहेकी मेरी एकल वृद्ध आमा, जो उच्च रक्तचाप र बाथको समेत रोगी हुनुहुन्छ, अझै सम्हालिन सक्नुभएको छैन । पतिको मृत्युको खबरले पीडामा रहेकी मेरी भाउजु कोभिड निमोनियाको संक्रमण मात्र होइन, मानसिक रुपमा समेत विक्षिप्त अवस्थामा हुनुहुन्छ । भाइको मृत्युको खबरले चक्कर आएर ढलेकी मेरी दिदी र दाजुको मृत्युको खबरले बेहोश मेरी बहिनी अहिले बल्ल होशमा आएकी छन् ।

दाजुको मृत्यु हुँदा ब्रतबन्ध पनि नगरेको मेरो भतिजालाई संस्कार चलाउन भन्दै जनै लगाइदिन छिमेकीले मन्दिरमा लैजादै गर्दा ‘बाबा नभई दाईलाई किन जनै लगाउन मन्दिर लैजान लागेको ?’ भनेर प्रश्न गर्ने मेरी अबोध भतिजीलाई दिने जवाफ मसँग छैन ।

कोभिडले बाबा गुमाएको र आमा फेरि संक्रमित हुँदा अब के हुने होला भन्ने मानसिक तनावमा टोलाएर बसेको मेरो भतिजोलाई सान्त्वना दिन मसँग कुनै शब्द छैन । मेरो दाजु बित्दा मेरी आमा,म र मेरी श्रीमतिको रोदन सुनेकी मेरी सानी छोरी आफ्नो बाबालाई पनि केही हुने हो की भनि पटक-पटक म सुतेको कोठाको ढोकामा आएर चिहाउँदा म केवल उसलाई ‘म ठिक छु, अब हामीलाई केही हुँदैन छोरी’ भनेर पीडा भित्रबाटै हाँसेजस्तो गरी नक्कली हाँसो हासेर, आँखाभरी आँसु लिएर ढोका छेउ आउने आमा र श्रीमतिलाई पनि आफू ठिक हुँदै गएको बताएर अनि भाउजु र ती छोराछोरीलाई सबैका लागि म छु नि भनेर सान्त्वना दिएको छु ।

तर, जब हिम्मत निकालेर यति कुरा गर्छु अनि मन थामिदैन । एक्लै ढोका थुनेर रुने गरेको छु । यस्तो अवस्थामा मान्छेको मनमा कति पीडा हुन्छ शायद त्यो शब्दमा बयान गर्न सकिँदैन । म अहिले जुन खालको मानसिक अन्तर्द्वन्द्व र पीडामा छु , यो बेला परिवारको सदस्य गुमाउने अन्य आम नेपालीको पनि मनोदशा यो भन्दा फरक पक्कै छैन ।

गत वर्षदेखि आजको दिनसम्म कोभिडको कारणले ज्यान गुमाउनेको संख्या मेरो परिवारका दुईजना जोड्दा जम्मा ५ हजार ४११ पुगेको छ । यस्तै मेरो परिवारका ६ जनासहित ४ लाख ७२ हजार ३५४ जना संक्रमित भएका छन् । यद्यपि यो बीचमा ३ लाख ५२ हजार ४१४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । हुन त, यो मृत्यु र संक्रमितको आंकडाले तपाईं, तपाईंको सरकार वा तपाईंका मन्त्रीहरुलाई केही फरक पार्छ जस्तो लाग्दैन किनकी यो तपाईंका लागि फगत अंक वा आंकडा मात्र हो । तर हाम्रो लागि वा म जस्तै आफ्नो परिवारका सदस्य गुमाउनेका लागि सर्वश्व हो ।

स्वास्थ्य मन्त्रालयले हिजो (जेठ ४) मात्र कोभिडको तेस्रो भेरियन्ट पत्ता लागेको र यो भेरियन्ट पहिलो र दोस्रो भन्दा झन खतरनाक हुन्छ भनेर सूचना जारी गरेको छ । यसअघि पहिलो लहर आउँदा पनि विज्ञले दोस्रो लहर पहिलोभन्दा खतरनाक भएर आउँछ भनेर सरकारलाई सूचना नदिएका होइनन् । तर, विज्ञहरूको सुझाव तपाईंका लागि एक कानले सुन्ने अर्को कानले उडाउने मात्र गर्नुभएन, हाच्छिँउ साच्छिँउ गरेर कोराना उडाउने, भगाउने, हिमालबाट ठोकिएर आएको हावा खाएकोले नेपालीको इम्युनो सिस्टम बलियो भएको देखि… बोसीय र फ्याटीय तत्ववाला हावादारी कुरा गरेर सम्भावित जोखिममा राज्यले गर्नु पर्ने कुनै तयारी गर्नु भएन ।

संसदमा कोभिडविरुद्ध राज्य संयन्त्रले काम नगरेको र यो अवस्थामा संवेदनशील नभए ठूलो क्षति ब्यहोर्नु पर्छ भन्ने सांसदहरुलाई खिसिट्युरी मात्र गर्नु भएन, उहाँहरूको तेजाबध गर्नु भयो । मैले जे भने त्यही ठिक भन्ने हठ, अहंकार र उखान टुक्कामा रमाउनु भो । त्यतिमात्र होईन, पार्टीको आन्तरिक मामलामा, आन्तरिक झगडामा जनतालाई पार्टी प्यालेसमा मासु भात र दुई-चार सय भत्ता दिएर काठमाण्डौं उतार्नु भो, चोक-चोकमा जुलुस निकाल्नु भो, जुलुस हेर्न आउन आफ्नै पार्टी भित्रका विरोधीलाई ललकार्नु भो, ठोरीका राम र हनुमानको नाममा भीड उतार्नु भो ।

सम्पन्न नै नभएका आयोजनाहरूमा आफ्नो नाम ताम्रपत्रमा लेखाउने सस्तो लोकप्रियताको लागि भिड जम्मा गरेर तमासा देखाउनु भो अर्थात् कोभिड फैलिनका लागि जे गर्नु पर्थ्यो, त्यो सब तपाईं आफैंले गर्नु भयो । जनतालाई भने २५ जना भन्दा बढी भेला नहुन फमार्न जारी गर्नु भो । तर, कोभिडको सन्निकट जोखिमका बारेमा तपाईं पुरै बेखबर मात्र होइन, यति गैर जिम्मेवार बन्नु भो कि त्यसको परिणाम अहिले आएर जनताले भोग्दैछन् ।

तपाईं मात्र होईन । तपाईंका सारथीका रुपमा रहेका सिंगो मन्त्रिमण्डलका सदस्य केवल तपाईंको चटके प्रहसनमा ताली ठोक्ने रमिते भन्दा माथि कहिल्यै देखिएनन् । बरु सत्ताको चास्नीमा रमाउँदै आफ्नो विवेक बन्धकी राखेर तपाईंको चटकीका फड्के किनारका साक्षी बसे । हिटलरका प्रपोगण्डा मन्त्रीले जस्तै ‘एउटा झुटलाई सय पटक दोहोर्‍याउँदा त्यसलाई पनि सत्य झै जनतामा भ्रम सृजना गर्न सकिन्छ’ भने झैं तपाईंका मन्त्री, सल्लाहकार, ढोके, बैठके सबै प्रपोगण्डामा मै लागे र अहिले पनि निरन्तर त्यही काममा लागेका छन्, जसलाई सधैं तपाईंले थपथप्याउनु भएको छ । आर्शिवाद दिनु भएको छ । यो श्रृंखला केही अपवादलाई छोडी प्रदेश र स्थानीय तहमा पनि उही छ । किनकी स्कुलिङ एउटै छ । तपाईं जस्तो सबै कुरामा ज्ञान राख्ने मानिसलाई जानकारी नै छैन भनेर म कसरी पत्याऊँ ? तर देशको यथार्थ ‘आँखो देखा हाल’ के छ त्यसको परीक्षणमा तपाई कहिल्यै लाग्नु भएन ।

दार्शनिक सुकरातको एउटा महत्वपूर्ण भनाइ छ- ‘मलाई एउटा कुरा मात्र थाहा छ, र त्यो के भने मलाई केही पनि थाहा छैन ।’ तर त्यसको ठिक उल्टो तपाईं यस्तो महान दार्शनिक हुनुभयो कि तपाईंलाई थाहा नभएको त कुनै कुरा नै रहेन । तपाईं विश्व बह्माण्डको सर्वज्ञाता कहलाउँदै ठाउँ कुठाउँ प्रवचन र प्रहसन गर्दै हिंडनु भो । जसको मूल्य हामीजस्ता निहत्था जनताले भोग्नु परेको छ तर तपाईंलाई जनताको यो चिच्याहटको कुनै मतलब छैन । हुँदो हो त, अहिले आम नेपालीले जुन पीडा भोगिरहेका छन्, शायद त्यो भोग्नु पर्दैनथ्यो ।

सम्माननीय प्रधानमन्त्री ज्यु,
जतिबेला विश्वमा कोभिडले हाहाकार मच्चाएको थियो त्यो बेला विश्व समुदाय पनि उचित तयारीको अवस्थामा थिएन । यद्यपि हामी त्यो समय सामान्य अवस्थामा नै थियौं । पछि पनि हामीसँग पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, खोपको व्यवस्था र अन्य स्वास्थ्य सुरक्षा मापदण्डका बारेमा काम गर्ने पर्याप्त समय थियो । तर तपाईंको अहम, अहंकार र अजासु प्रवृति र चुट्किला मै रमाउने गर्नाले नेपालले यो क्षति भोग्नु पर्‍यो । यति हुँदा पनि तपाईंको चेत अझै खुलेजस्तो लाग्दैन ।

अहिले पनि तपाईं हावामै हुनुहुन्छ,तपाईंका मन्त्रीहरु हावामै छन् भने राज्यलाई सही सूचना दिनु पर्ने कर्मचारीतन्त्रले दिएको गलत सूचना बोकेर सब ठिक छ भन्दै हिड्नु भएको छ । यहाँ पनि गर्न सक्ने इमान्दार कर्मचारी जिम्मेवारीबाट बाहिर छन् । केही लम्पट स्वार्थी र चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने तपाईंका केही आसेपासे कर्मचारीले गलत सूचना प्रवाह गरिरहेका छन् ।

यसको पछिल्लो उदाहरण काडमाण्डौंका अस्पतालमा बेडको अभाव छैन भनेर र दिइएको सूचना नै काफी छ । समय निकालेर दुई चार अस्पताल पुगेर हेर्ने कष्ट गर्नुस् त- यर्थाथ के हो सामने आइहाल्छ । तर तपाईंलाई फुर्सद छैन किनकी तपाईं ‘समृद्ध नेपाल सुखी नेपाली’ को महान अभियानमा हुनुहुन्छ । दुई चार हजार नेपालीको ज्यान जाँदैमा यो महान अभियान रोक्न पनि मिल्दैन ।

किनकी पार्टी –पौवा, खोला–नाला धरहरा, मनोरञ्जन घर सबैतिर ताम्रपत्रमा शिलान्यास र उद्घाटनमा तपाईंकै नाम लेखाउनु छ । भोलीको सन्ततिले यस्तो सोचोस- आहा ! विकास निर्माणको साँचो स्वर्णयुग त प्रधानमन्त्री ओलीकै पालामा आएको रहेछ । तपाईंलाई लाग्दो हो यी मृत्युका चित्कार सुनाउने र केही भएन भन्नेहरू तपाईंको विकास र समृद्धिका विरोधी हुन्, लोकतन्त्र र गणतन्त्रका विरोधी हुन्, अझै तपाईंको समाजवादको अभियानका विरोधी हुन् ।

तपाईंलाई लाग्दो हो, सब ठिकठाक त छ । विकास निर्माणका काम भएकै छन् । धरहरा, सम्मेलन केन्द्र उद्घाटन गरेकै छु । राम, हनुमानका प्रतिमा स्थापना गराएकै छु । अस्पतालमा बेडको पर्याप्तता छैन भन्नेहरू सरकारलाई बदनाम बनाउन लागि पर्नेहरु हुन् । तर प्रधानमन्त्री ज्यु, अवस्था विल्कुलै फरक छ ।

तपाईंले भनेजस्तै अस्पतालमा सहज बेड, अक्सिजन वा आइसियुको व्यवस्था हुँदो हो त मेरी काकीले ज्यान गुमाउनु पर्ने थिएन । जुन दिन बुटबलमा अक्सिजनको अभावमा आईसियुमा रहेका ११-१२ जनाको ज्यान गयो त्यसै दिन बुटबलमा बेड र अक्सिजन नपाएर मेरो दाजुलाई बल्लबल्ल तौलिहवा लगेर खटियामा राखेर अक्सिजन दिएर उपचार गराउँदै थियौं । तर त्यहाँ पनि अक्सिजन सकिएपछि फेरि अर्को दिन बुटबल ल्यायौं । तर अस्पतालमा बेड, अक्सिजन, आइसियु र भेन्टिलेटर सबै बिरामी आफैले खोज्नुपर्ने अवस्थाका बीच तीन तहको सरकारको उपस्थिती कहीँ कतै अनुभूति भएन र आइसियुको खोजी गर्दागर्दै मेरो दाजुले पनि प्राण त्याग गर्नु भयो ।

के जनताको करबाट गाडि चढ्ने, तलब भत्ता खानेहरु यत्तिसम्म गैर जिम्मेवार बन्न मिल्छ ? अस्पतालहरूमा अक्सिजन नहुँदा निजी क्षेत्रले चन्दा उठाएर अक्सिजन प्लान्ट जोड्दैछन् । प्लाण्ट जोड्नका लागि ओमान, दुबई, कतार जस्तो ठाउँमा सस्तो श्रम गर्न जान बाध्य नेपालीले गास काटेर रकम अनि सिलिण्डर पठाएका छन् । जुन नेपालीहरु तपाईं र तपाईं जस्ता नेताहरूले देशमा बस्ने वातावारण बनाउन नसक्दा विदेशिन बाध्य भएका थिए । अनि तपाईंहरू भोटको राजनीतिले झसङ्ग हुनु भो र हतार-हतार मन्त्रिपरिषद बैठक बसेर फलाना अस्पताललाई अक्सिजन प्लाण्ट राख्न यति रकम छुट्याइको भन्दै फेरि प्रचारमा लाग्नु भयो । खाडीबाट सिलिण्डर जोहो नहुँदासम्म निजी क्षेत्र यो प्रयासमा जुट्नु अघि नै सरकारले यो निर्णय किन गर्न सकेन जवाफ छ प्रधानमन्त्री ज्यू ?

तपाईंले दुईपटक मृगौला प्रत्यारोपण गर्दा होस् या पटक-पटक विदेशका महँगा अस्पतालमा उपचार गर्दा होस् (केही व्यापारीले स्पोन्सर गरे) बाहेक नेपाली जनताले तिरेको कर खर्च भएको छ । तपाईंलाई बाँच्न रहर लाग्दा अवैधानिक ढंगले समेत मृगौला प्रत्यारोपण गर्नु भो । तपाईंले जस्तो अरुले आफ्नो नातो-साइनो नै नभएको मान्छेको मृगौला लिएर प्रत्यारोपण गरे उ त जेल जानु पर्छ । किनकी कानून हामी जस्ता निमुखा जनतालाई लाग्छ न कि तपाईंहरुलाई ।

यसो भन्दै गर्दा यो सम्पूर्ण अव्यवस्थाको जिम्मेवार तपाईंमात्र पनि होईन । विगतका सरकार र नेताहरू पनि त्यत्तिकै जिम्मेवार छन् । तर, अहिले तपाईं देशको मुखिया भएकोले अरुलाई दोष दिएर पानी माथिको ओभानो बन्न त पक्कै मिल्दैन होला । चाह्यो भने तत्काल पनि केही गर्न सकिन्छ भन्ने कुरा छिमेकी देश दिल्लीका मुख्य मन्त्री केजरीवाललाई हेरे पुग्छ, टाढा जानु पर्दैन । कोभिडको उद्गम चीनले गरेको व्यवस्थापनको कुरा र अन्य देशले विगतमा गरेको तयारीको त कुरै छोडौं ।

जतिबेला तपाईं पूर्णरुपमा तयार नै नभएको गोदावरीको सम्मेलन केन्द्र उद्घाटन गरेर आफ्नो नाम टाँस्न लगाउँदै हुनुहुन्थ्यो, त्यतीबेला केजरीवालले रामलिला मैदानमा ५०० शैयाको आइसियु उद्घाटन गर्दै थिए । हाम्रोमा मैदान पनि चाहिँदैन थियो । अलिकति इच्छा शक्ति र पहल मात्र भएको भए वीर अस्पतालको नव निर्मित भवनमा ५०० वेड क्षमतामै आइसियु सञ्चालन गर्न सकिन्थ्यो ।

देशका अन्य ठाउँमा पनि सय पचास बेड त सञ्चालन हुन सक्थे होला । यो मैले भनेको नभई स्वयं चिकित्कसले नै भन्दै आएका थिए र छन् । तर दुर्भाग्य, तपाईंको प्राथमिकता जनता बचाउने अस्पताल,वेड,अक्सिजन प्लाण्ट वा आइसियु र भेन्टिलेटर नभई धरहरा र सम्मेलन केन्द्र रह्यो । यसको अर्थ विकास निर्माण हुनु हुँदैन भन्ने कदापि होईन । तर, हरेक चीजको पनि त समय हुन्छ होला नि हैन र ? मर्ने त मरे फर्काएर ल्याउन सकिंदैन तर यो भन्दा नराम्रो हुन नदिने प्रयास गर्न तपाईंलाई के ले छेक्यो प्रधानमन्त्री ज्यू ?

अहिले त विश्व बजारमा कोभिड उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै सामग्री र खोपहरू उपलब्ध छन् । तर, त्यसको व्यवस्थापन होईन कि देशमा मृत्युको आंकडा बढ्दै गर्दा आफूलाई अब्बल देखाउन अन्तरराष्ट्रिय सञ्चारमाध्यममा नेपालमा कोभिड नियन्त्रणमै रहेको भ्रमपूर्ण अभिव्यक्ति समेत दिनु भयो ।

आचार्य चाणक्यको भनाइ छ- ‘गुणाें से मानवता की पहचान होती है उचें सिंहासन पर बैठने से नही, महल के उच्च शिखर पर बैठने के बाबजुद कौवेका गरुड होना असम्भव है ।’

के तपाईंलाई लाग्छ- यो विषम परिस्थितिमा प्रधानमन्त्रीका रूपमा तपाईंले वा तपाईंको सरकारले मैले देश र जनताको लागि साँच्ची कै सही भूमिका निर्वाह गर्नु भएको वा गरेको छ ? यस बारेमा कहिले आफैलाई प्रश्न गर्नु भएको छ ? सायद गर्नु भएको छैन र त्यो आवश्यकता पनि ठान्नु भएको छैन ।

अन्य धेरै देशका नागरिक खोप लगाउँदै गर्दा हाम्रो देशमा कमिशनको खेलमा खोप आउन नदिने, कमिशन कै खेलमा देशभित्रै खोपको क्लिनिकल ट्रायल हुन नदिने तपाईंहरूका लागि अझै कति नेपाली मरिदिन पर्ने हो ? जनता बाँचे न राजनीति गर्ने होला ? पहिले जनता बचाउँ त्यसपछि राजनीति तिर लाग्नु होला ।

यो चित्कार मेरो मात्र होईन । म जस्ता हजारौं, लाखौं निमुखा नेपाली जनताको हो । अन्तमा एउटा (अ)नागरिकका रूपमा तपाईंलाई एउटा प्रश्न गर्न मन छ प्रधानमन्त्री ज्यू- अस्पताल र घाटहरूमा देखिने यो चित्कार, सन्नाटा र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है ?

(पत्रकार  टिभी भुसालको फेसबुक वालबाट साभार गरिएको ।)

Back to top