×

डा. जगतदीप :

विश्वत्रसित कोरोना कहरका कारण आम नागरिक पनि त्रसित भइरहेको बेलामा झन अग्रपंक्तमा खटिने चिकित्सक डराउनु स्वभाविक नै हो । त्यस्तै डर मलाई पनि छ । २४सै घण्टा सेवामा खटिँदा आफूलाई पनि कोरोना सरिहाल्छ कि भन्ने डर मनमा उत्पन्न हुनु स्वभाविक नै हो । ‘कोरोना लागेर लक्ष्ण देखियो र आफैँ थला परियो भने त अस्पताल नै बन्द गर्नुपर्छ कि भन्ने डरले बढी सताउँछ ।’ महामारीको समयमा आफ्नो पेसाबाट हामी पन्छिन र दायित्वबाट बिचलित हुन मिल्दैन । 

म मात्रै हैन अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा नर्ससहितका स्वास्थ्यकर्मीहरु पनि अनवरत रुपमा आफ्नो जिम्मेवारी बहन गरीरहेका छन् । त्यस्तै जिम्मेवारी बहन गर्ने एक नर्स हुन् मञ्जु आचार्य । कोरोना संक्रमित र शंकास्पद गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य परीक्षणमा उनलाई अलिक चुनौती पनि छ । तर पनि उनले चुनौतीलाई सहर्ष स्विकार गर्दै अहोरात्र सेवा प्रदान गरीरहेकी छिन् । 

नयाँ भेरियन्टसहितको कोरोना भाइरस पहिलो चरणको भन्दा बढी संक्रामक छ । ‘ड्युटीमा खटिदा कोरोना लाग्छ कि भन्ने डर त मनमा हुन्छ, उनले भनिन्, ‘तर हामी बिरामीको सेवा गर्ने अभिप्रायले नर्सिङ पढेका हौँ । महामारीमा खटिन पाउँदा गर्वान्भित भएकी छु ।’ 

भौतिक पूर्वाधारको हिसावले सानो भएपनि हाम्रो कार्यक्षेत्र र सेवा क्षेत्र एकदमै फराकिलो छ । बिरामीको सुत्केरी गराउँदा वा अन्य उपचारमा खटिँदा  व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई), गाउन, पञ्जा, मास्क लगायतको प्रयोगबाट शतप्रतिशत सुरक्षित भएर सेवा प्रवाह गरीरहेको अवगत गराउँछौँ । 

डेलीभरि (सुत्केरी) गराईसकेपछि बिरामीलाई आइसोलेसनमा राखि २४ घण्टापछि डिस्चार्ज गर्नुका साथै सिकिस्त बिरामीलाई नेपाल सरकारले तोकेको आइसियु र भेन्टिलेटरको सुविधा भएको र सरकारी शूल्क लाग्ने अस्पतालमा पठाउने व्यवस्था गर्छौ । अरु स्वास्थ्यकर्मी, अभिभावक वा अन्य बिरामीलाई असर नपर्नेगरी कोरोना संक्रमित बिरामी, सुत्केरी वा गर्भवतिलाई शल्यक्रियासहितका सेवा कसरी प्रवाह गर्ने भन्ने विषयमा हामी सचेत छौँ ।

सार्स कोभ १९ का कारण विश्वव्यापी रुपमा स्वास्थ्य सेवा दिने प्रक्रियामा परिवर्तन भएको छ ।  यो संक्रामक भाइरसका कारण आधारभूत स्वास्थ्य सेवा प्रणाली नै प्रभावित भएको कुरालाई नकार्न सकिन्न । जस्तोसुकै बिरामी भएपनि अस्पतालमा जाने भनेको ओ.पी.डी. र ईमरजेन्सीमा भएका कारण ति दुई ठाउँको व्यवस्थापनमा सजगता अपनाउन आवश्यक छ । अस्पतालमा हामीले भौतिक दुरी कायम गर्ने, सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, बेला बेलामा सेनेटाइजर गर्ने, धेरै भिडभाड नगर्ने जस्ताप स्वास्थ्य मापण्डको हामी पनि पालना गरीरहेका छौँ ।

सुत्केरी तथा गर्भवति महिलाहरुको सबै परीक्षण गरीसकेपछि मात्रै भर्ना गर्ने, कोरोना शंकास्पद भएमा आरटी पिसिआर वा आरडिटी गर्ने र सोही अनुरुप बिरामीको उपचारको व्यवस्था मिलाउने काम हामीले गरीरहेका छौँ । महामारीका कारण सकेसम्म नर्मल डेलीभरी गराउने प्रयास गर्नु चिकित्सकको धर्म हो । तसर्थ सकेसमम हरेक केसमा शल्यक्रिया नै गर्नुपर्ने आवश्यक्ता पनि म देख्दिन । मुख्यतयाः श्वासप्रश्वासकै माध्यमबाट यो भाइरस सर्ने भएकाले मास्कको उचित प्रयोग नै सुरक्षित हुने उपयुक्त माध्यम हो ।

कोरोना भाइरसको डायमिटर ५० न्यानोमिटरदेखि २ सय न्यानोमिटर को हुन्छ । जुन हावामा घण्टौसम्म रहीरहन सक्छ र अरुलाई सार्न सक्छ । सर्जिकल क्याप, आइसोलेसन गाउन, मास्क, गलभ्स, प्रोटेक्टिभ गगल्स, डिस्पोजल शु कभर लगायतको उचित तरिकाले प्रयोग गर्नुपर्छ । हावाबाट सर्ने भएकाले बिरामीलाई आइसोलेसन कोठामा सार्ने र सुत्केरी अथवा शल्यक्रियापछि निस्किने वैस्ट (फोहोर) प्रोडक्टलाई उचित तरिकाले डिस्पोज गर्नुपर्छ ।

कोरोना संक्रमितलाई शल्यक्रिया गर्नुपरेमा ३ प्रतिशत मात्रै सर्ने सम्भावना हुन्छ । तर परीक्षण नगरी शल्यक्रिया गर्नु  स्वास्थ्य मापदण्डअनुसार पिपिई नलगाउने गल्ती धेरै दोहोरिएको पाइन्छ । यस्तै रगत, दिशा, पिसावबाट  पनि भाइरसको संक्रमण सर्ने भएकाले आइसोलेसनमा पनि व्यवस्थित र सुरक्षित हुन आवश्यक छ । शल्यक्रियापछि २६ देखि ३० दिनको अवधिमा विशेष ध्यान दिनुपर्छ । सो अवधिभित्र २६ प्रतिशतको ज्यान समेत जान सक्ने डर हुन्छ भने ५१ प्रतिशतलाई छाती सम्बन्धि रोग भई लामो समयसम्म आइसियुमा बस्नुपर्ने अवस्था पनि आउन सक्छ ।

नर्मल सुत्केरी भएर जन्मेका शिशुलाई कोरोना भाइरसको संक्रमण हुने सम्भावना एकदम न्युन हुने भएकाले आत्तिनुपर्ने र डराउनुपर्ने अवस्था हुँदैन । तर सुरक्षित भने हुनुपर्छ । स्तनपानबाट कोरोना भाइरस नसर्ने हुँदा सकेसम्म स्तनपान गराउँदा उत्तम हुन्छ । गर्भवति महिलाहरुले ३ महिनाको भइसकेपछि आर एन ए भ्यक्सिन लगाउन मिल्छ । 

(लेखक वीरगञ्जस्थित ओम हस्पिटलका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुन् ।) 

Back to top