आज राजनीति र नेतृत्वप्रति जुन दृष्टिकोण छ, त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी छ, जसले युवालाई राजनीतिमा संलग्न हुन अभिप्रेरित गरोस्
‘समृद्ध नेपाल, सुखी नेपाली’ नागरिकको सपना होइन, सरकारको विज्ञापन हो । किनकि, त्यो सपनामा नागरिकको सहभागिता छैन, बरु सरकारको एकोहोरो प्रोपोगान्डा छ । आज आधा देश २४ वर्षमुनिको छ । तर, यो नाराले युवालाई जोड्न सकेको छैन ।
युवाका लागि बुनिएको यो नाराको कार्यान्वयनमा युवाको भूमिका खोइ ? राजनीतिमा युवाको सपनाको प्राथमिकीकरण खोइ ? आजका युवा के सोच्छन्, कसरी सोच्छन्, अनि किन त्यसरी सोचिरहेका छन् भन्ने कुरा अबको राजनीतिको एजेन्डा बन्न जरुरी छ । ‘देश, बस्नलायक छैन’, ‘ राजनीतिप्रति रुचि छैन’, ‘समृद्धि गफ हो, आउँदैन’, ‘सरकारमाथि विश्वास छैन’ यी मेरा भनाइ होइनन्, युवाले व्यक्त गरिरहेका विचार हुन् । यी भावको प्रभावबारे कुनै पनि सत्ताधारी वा प्रतिपक्ष कांग्रेस–नेकपाका नेताहरूले सोचेका होलान् ?
युवा भनिएका शंकर पोखरेल,गगन थापा, घनश्याम भुसाल र योगेश भट्टराईहरू पदमा पुगेर पनि परम्परागत राजनीतिक प्रणालीमै बग्न थालेपछि अहिले फेरि युवा राजनीतिबारे बहस सुरु भएको छ । युवा पदमा पुग्ने तर परिणाम दिन नसक्ने हो भने किन युवा नेतृत्व चाहियो भन्ने बहस महत्वपूर्ण बहस हो ।
हिजो यिनै नेता विद्यार्थी एवं युवा राजनीतिमा रहँदा परिवर्तनको वकालत गर्ने अनि आज सत्तामा पुगेपछि त्यस्तो के भयो, जसले उहाँहरूको परिवर्तन र विद्रोही स्वभावलाई मार्यो ? यसमा दुइटा कारण हुन सक्छन्– पहिलो, हिजोको त्यो विद्रोही स्वभाव देखावटी थियो । दोस्रो, विद्रोही स्वभाव हुँदै सत्तामा पुग्ने क्रमको बाटोमा सम्झौता गरियो । प्रायः नेताहरूले दोस्रो बाटो अँगाले । आज नेताहरू त्यही विद्रोही स्वभावसँग सम्झौता गरेर सत्तामा पुगेका छन्, जसले नेतृत्वलाई यो कु–संस्कृत राजनीतिको दास बनाएको छ । राजनीतिमा आफ्नो स्थान बचाइराख्न पार्टीका अझ अहिले त गुटका बाध्यात्मक ह्विपमा होमा हो मिलाउन थालेसँगै त्यो विद्रोही स्वभावको अन्त्य भएको छ ।
राजनीतिमा युवा किन आउँदैनन् ?
राजनीतिमा युवापुस्ता किन आउन सकिरहेका छैनन् ? राजनीतिमा लहैलहैमा लागेर जाने युवाको संख्या उल्लेख्य भए पनि राजनीति बुझेर नै योगदान गर्न संलग्न हुनेको संख्या भने निकै कम छ । राजनीतिमै भएर पनि राजनीतिमा हस्तक्षेप गर्न सक्ने युवा त विरलै भेटिन्छन् । राजनीतिमा युवा नेतृत्व स्थापित हुन नसक्नुका मुख्य तीन कारण छन् :
हालको राजनीति गुन्डागर्दी, अपराधीकरण, भ्रष्टाचारउन्मुख भएकाले आमनागरिकको राजनीतिप्रतिको दृष्टिकोण त्यति राम्रो छैन । राजनीति गर्न ज्यान बाजी थापेर खुकुरी बोकेर राजनीति किन गर्ने ? केका लागि गर्ने ? ‘सबै नेता भ्रष्ट हुन्, केही गर्न सक्दैनन्’ भन्ने बुझाइले पनि धेरै युवामा निराशा छाएको छ ।
पहिलो, स्रोत साधनमा अभाव : राजनीतिमा लाग्ने युवा कि त विद्यार्थी वा भर्खरै पेसा व्यवसाय गर्न सुरु गरेका व्यक्ति हुन्छन् । जीवनको यो कालखण्डमा युवाको स्रोतसाधनमा पहुँच सीमित हुन्छ । युवाहरू आफ्नो व्यक्तिगत खर्च, राजनीतिक अभियानमा हुने खर्च र कति अवस्थामा त परिवारको आर्थिक भार पनि बेहोर्नुपर्ने अवस्थामा हुन्छन् । आम्दानी कम र दायित्व बढी हुँदा युवा आफैँलाई कसरी त्यसको व्यवस्थापन गर्ने भन्ने चुनौती रहन्छ ।
धेरै युवाले सुरुमा राजनीतिमा हामफाले पनि आर्थिक अवस्थाकै कारण राजनीति छाड्छन् । राजनीतिलाई जागिर बनाउने युवा राजनीतिमा टिक्छन् । आफ्नो इमानलाई केन्द्रमा राखेर राजनीतिलाई सेवामूलक बनाउने व्यक्ति हराउँदै जान्छन् । आज राजनीति फुलटाइम व्यवसाय जो बनेको छ । आफ्नो काम गरेर बचेको समय राजनीतिमा योगदान गर्ने माहोल हालको राजनीतिले प्रदान गर्दैन ।
चुनावमा उठ्नका लागि पैसा चाहिने, अगाडि–पछाडि भुस्तिग्रे पाल्न पैसा चाहिने, चुनाव जित्न पैसा चाहिने भएपछि आज एउटा युवा आफ्नो स्वाभिमान बेचेर कसरी यो धन्दामा लाग्न सक्छ ? पढाइको तनाव, करिअरको तनाव, सम्बन्ध (प्रेम वा विवाह)को तनाव झेलिरहेका युवालाई राजनीति अनि समाजप्रति सक्रिय हुन यसै पनि त्यति सजिलो छैन ।
दोस्रो, आम दृष्टिकोण : तपाईंले एउटा बच्चालाई के बन्छौ भनेर सोध्नुभयो भने डाक्टर भन्छ, इन्जिनियर भन्छ, बैंकर पनि भन्छन्, तर नेता भन्दैनन् । केही समयअघि एउटा विद्यालयमा एकजना नवनिर्वाचित मेयरले दिएको भाषण सम्झन्छु, ‘नगरपालिका यस विद्यालयलाई सहयोग गर्न तयार छ, ताकि यहाँका विद्यार्थी ठूलो डाक्टर, इन्जिनियर, कर्मचारी बनून् ।’ मलाई अचम्म लाग्यो ।
एउटा नेताले विद्यार्थीहरूलाई नेता बन भनेर भन्न सक्ने अवस्था किन छैन ? राजनीतिप्रति हाम्रो दृष्टिकोण सकारात्मक किन छैन ? नेताकै नजरमा नेता किन सम्मानित छैन ? यहाँ अहिलेका नेता नै सक्षम युवा आएर हाम्रो भाग खोस्ने हुन् कि भन्ने डर पालेर बसेका छन् । उनीहरू सम्भव भएसम्म नयाँ पुस्ताले नेतृत्व लिन खोजेको देख्न रुचाउँदैनन् ।
थुप्रै युवाले आफ्नो मतदातापत्र बनाएकै हुँदैनन् । ‘मेरो भोटले अर्थ राख्दैन’ भन्ने भावले युवालाई राजनीतिबाट टाढा बनाउँदै छ । जब एकजना युवाले आफ्नो संलग्नताले राजनीतिमा फरक पर्छ भनेर महसुस गर्न सक्दैन भने ऊ किन संलग्न हुने ? प्रश्न यहीँनेर आउँछ । अर्को कुरा, के शेरबहादुर देउवा, केपी ओली अनि प्रचण्डलगायतका नेताले आमयुवालाई प्रतिनिधित्व गरिरहेका छन् त ? छैनन् ।
म यस्तो बन्छु भनेर युवालाई राजनीतिमा लाग्न प्रेरणा दिने त्यो ‘रोलमोडल’ नहुनुले पनि युवा राजनीतिबाट तर्किएका हुन् । हामी राजनीतिलाई घृणा गर्छौं, तर यदि बिपी, मदन भण्डारी, पृथ्वीनारायण शाह, भीमसेन थापाहरू पनि खेतिपाती वा जागिर गरेर बसेको भए देश कुन अवस्थामा हुन्थ्यो होला भनेर भुल्छौँ ।