×

नेपालीहरुको भान्सामा प्रत्येक दिन नपकाई नहुने तरकारी हो आलु र प्याज । त्यसैगरी विभिन्न विमारीबाट लडिरहेका व्यक्तिहरु र स्वास्थ्यलाई ख्याल गर्नेहरुले प्रत्येक दिन बिहान खने फलफूल हो स्याउ । वीरगञ्जको छिमेकी बजार रक्सौलमा भारतीय रुपैयाँ ८० रुपैयाँ अर्थात नेपाली १२८ रुपैयाँमा ५ किलो प्याज तथा सोही दरमा आलु खरिद गर्न पाइन्छ । तर वीरगञ्जमा ५ किलो आलु वा प्याजको मुल्य २४० रुपैयाँ नेपाली रहेको छ । सोही दरको फरक फलफूलहरुमा पनि रहेको छ । यो किन भएको हो भने, नेपाल सरकारले आउँदो आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको बजेटमा मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाएको छ ।

बजेट मार्फत सरकारले आम उपभोक्ताको भान्सामा नभइ नहुने बस्तुहरु आलु, प्याज, सागपात, तरकारी, स्याउ, फलफूल, ढुवानी भाडासहित अधिकत्तम बस्तुहरुमा भ्याट लगाएको छ । वीरगञ्जको बजारमा जेठ १५ गतेसम्म अर्थात बजेट भाषण भन्दा पहिले ५ किलो आलु, प्याजको मुल्य २०० रुपैयाँ नेपाली रहेको थियो । आर्थिक मन्दीको समयमा सरकारले बजेट मार्फत आम उपभोक्तालाई राहत दिनुको सट्टा आहत दिएको छ । आम उपभोक्ताहरुले मालबस्तुहरुको मूल्यमा ठूलो फरक भएर सिमा क्षेत्रको बजार रक्सौलबाट समान किनमेल गरिरहेका थिए ।

तर सरकारले मिति २०८० जेठ १५ गतेको राजपत्रमा नेपालबाट बहिर जाने र विदेशी मुलुकबाट नेपाल भित्र आउने यात्रुहरूले आफ्नो साथ ल्याउन र लैजान पाउने निजी प्रयोगको मालबस्तु सम्बन्धि सूचना  प्रकाशित गरि १ सय रुपियाँसम्मको मालसामान मात्र ल्याउन पाउने ब्यवस्था गरेको छ । सोही राजपत्रलाई आधार बनाएर विभिन्न भन्सार कार्यालयहरुले सूचना गरि गरेको छ । एकातिर आम उपभोक्तालाई सीमा क्षेत्रको बजारबाट १ सय रुपैयाँ सम्मको मालसामान मात्र ल्याउन दिने र अर्को तिर कमिसन खाएर सेटिङमा करोडौंको मालसामान ल्याउ दिने नीति रहेको छ ।

यस नितिले सामाजमा अब सेटिङ चलाउनेहरु र आमउपभोक्ताहरु विच मुटभेट हुन सक्ने अवस्था नआउला भन्न सकिँदैन । सरकारले एकातिर भान्सामा प्रयोग हुने आलु, प्याजमा भ्याट लगाएर महँगो गर्ने र अर्को तिर सिमावर्ती बजारबाट मालसामान खरिदमा प्रतिवन्ध लगाउनु ठिक होइन । सरकारले आम उपभोक्ताको आम्दानी बढाउने नीति लिनुपर्छ । उपभोग्य मालसामानहरुमा लगाएको मूल्य भ्याट फिर्ता गर्नु पर्छ । सरोकारवालाहरुको ध्यानाकर्षण होस् ।

लेखक वीरगञ्ज कलेजका निर्देशक एवम् अर्थविद् हुन् । 

Back to top