×

विश्वभर डाक्टरलाई दोस्रो भगवानको दर्जा दिइन्छ, तर पछिल्लो समय केही व्यक्तिहरूले यस पवित्र पेशालाई व्यापार बनाएका छन्। हाम्रो देशको संविधानले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने प्रावधान गरेको छ। तथापि, आजकल स्वास्थ्य उपचारको नाममा खुलमखुल्ला भ्रष्टाचार र व्यापार भइरहेको छ।

२०७१ सालमा मेरो बुवा, माननीय पूर्वमन्त्री स्वर्गीय मेघराज निषाद, मिर्गौला सम्बन्धी समस्या भएपछि हामी विभिन्न अस्पताल धायौं। त्यही क्रममा हाम्रो भेट डाक्टर पुकारचन्द श्रेष्ठसँग भयो। उहाँको सरलता, सजिलोपन, र बिरामी प्रतिको उत्तरदायित्व देखेर हामी अचम्मित भयौं। उहाँ साँच्चिकै भगवानको दोस्रो रूप जस्तै लाग्नुभयो।

डाक्टर पुकारचन्दले मेरो बुवालाई सफल मिर्गौला प्रत्यारोपण गराउनु भयो। उहाँ सधैं बिरामीको हेरचाहमा समर्पित रहनुहुन्थ्यो। मेरो बुवा स्वर्गीय मेघराज निषाद दोस्रो संविधानसभामा संविधानसभा सदस्य हुनुहुन्थ्यो, र उहाँले अन्य देशमा जान अस्वीकार गर्दै आफ्नो देशकै डाक्टरबाट मिर्गौला प्रत्यारोपण गराउनुभयो। डाक्टर पुकारचन्द श्रेष्ठलाई बुवाले पूर्ण विश्वास गर्नु भयो, र उहाँकै हातबाट प्रत्यारोपण सफल भयो।

डाक्टर पुकारचन्द श्रेष्ठले बेलायतमा मृगौला, लिभर, र पेनक्रियाजमा विशेषज्ञता हासिल गरी नेपाल फर्किनुभयो। उहाँको उद्देश्य नेपाली जनतालाई सेवा गर्नु थियो। बेलायत, अमेरिका, र अन्य देशबाट अत्यधिक पारिश्रमिकको प्रस्ताव आउँदा पनि उहाँले आफ्नो मातृभूमि नेपाललाई छोड्न चाहनुभएन। उहाँले नेपालमा स्वास्थ्य सेवा प्रदान गर्दै आफ्नो देशप्रतिको प्रेम र समर्पण देखाउनुभयो।

डाक्टर पुकारचन्दले १७ वर्षअघि वीर हस्पिटलमा मृगौला प्रत्यारोपणको सुरुवात गर्नुभयो। उहाँले १०० भन्दा बढी मिर्गौलाको सफल प्रत्यारोपण गरिसक्नुभएको छ। त्यसपछि, २०६९ सालमा नेपाल सरकारले सहयोग गरेर उहाँले भक्तपुरमा नेपालकै पहिलो मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्नुभयो। यो केन्द्रले हालसम्म १५०० भन्दा बढी मिर्गौलाको प्रत्यारोपण र २६ भन्दा बढी कलेजोको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।

डाक्टर पुकारचन्द श्रेष्ठ र उहाँको टिमले नेपालका विभिन्न प्रदेशहरूमा मृगौला प्रत्यारोपणको सुरुवात गरिरहेका छन्। गण्डकी प्रदेश र कर्णाली प्रदेशमा समेत सफल मिर्गौला प्रत्यारोपण भएको छ। यो आर्थिक वर्षमा मात्र २११ मिर्गौला र १५ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। विश्वभरको इतिहासमा नेपालमा यति सफल प्रत्यारोपणको तथ्य नै नेपालका लागि गौरवको विषय हो।

नेपालमा डाक्टर पुकारचन्द जस्ता समर्पित र इमानदार चिकित्सकहरू नहुनु भएको भए, आजका दिनमा हाम्रो देशका मिर्गौला र कलेजो रोगीहरू विदेश जान बाध्य हुने थिए। तर, उहाँले नेपालमै उत्कृष्ट स्वास्थ्य सुविधा प्रदान गरी नेपाली जनतालाई ठूलो राहत दिनुभएको छ। यति ठूलो योगदान दिएर पनि डाक्टर पुकारचन्दले आफ्नो अस्पतालका लागि छुट्टै भवन र जग्गा प्राप्त गर्न अझै संघर्ष गरिरहनुभएको छ।

नेपाल सरकारले अझै पनि उहाँको कामलाई उचित मान्यता दिन सकेको छैन। यदि सरकारले समयमै सहयोग गरिदिएको भए, नेपाल स्वास्थ्य पर्यटनको क्षेत्रमा अग्रणी देश बन्न सक्थ्यो। सरकारलाई अब त विश्वास गर्नुपर्छ कि स्वस्थ नागरिकहरू नै समृद्ध नेपालको आधार हुन्। स्वास्थ्य सेवा सुलभ र उच्चस्तरीय बनाउने दिशामा सरकारले तत्काल ध्यान दिनु आवश्यक छ।

डाक्टर पुकारचन्द श्रेष्ठले आफ्नो अभियान "अङ्कदान महादान" मार्फत स्वास्थ्य सेवामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। सरकारले उहाँजस्ता समर्पित चिकित्सकहरूको महत्त्व बुझेर तिनको कामलाई सम्मान गर्नुपर्छ। यसबाट नेपाली जनताले स्वदेशमै उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्षम हुनेछन्, र हाम्रो देश स्वास्थ्य पर्यटनमा फड्को मार्नेछ।

सरकारले यसमा ध्यान नदिएमा, "सुखी नेपाली, समृद्ध नेपाल" को नारा केवल नारामा मात्र सीमित हुनेछ। अब समय आएको छ कि स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो फड्को मारोस्, र स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य र सुलभ होस्।

यसका लागि, सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्दछु कि डाक्टर पुकारचन्द श्रेष्ठज्यूको अभियानलाई समर्थन गर्दै शीघ्र एउटा छुट्टै सुविधा सम्पन्न भवन उपलब्ध गराइदिनुहोस्, ताकि नेपालले स्वास्थ्य क्षेत्रमा अझ ठूलो सफलता हासिल गर्न सकोस्।

Back to top