बीरगञ्ज । नेवार समुदायले मंगलबार वीरगञ्जमा गाईजात्रा पर्वको अवसरमा मृत्यु भएका आफ्ना प्रियजनहरूको सम्झनामा भव्य रूपमा रैली निकालेका छन्। वीरगञ्जको अलखियामठबाट प्रारम्भ भएको यो रैलीको नेतृत्व बीरगञ्ज सपारु समितिका अध्यक्ष संजय जोशीले गरेका थिए।
रैलीमा बालबालिकाहरूलाई विभिन्न भेषभूषामा गाईको रूपमा सजाएर सहभागी गराइएको थियो। रैली वीरगञ्जको मुख्य सडक हुँदै माइस्थान, २ नम्बर रोड, बिर्ताचौक हुँदै पुनः अलखियामठमा पुगेर समापन गरिएको थियो।
नेवार समुदायमा परिवारका सदस्यहरूको मृत्यु भएको अवस्थामा मृतकको सम्झनामा गाईजात्रा मनाउने परम्परा रहिआएको छ। यसै परम्परालाई निरन्तरता दिँदै हरेक वर्ष झैं यस वर्ष पनि वीरगञ्जमा गाईजात्रा धुमधामका साथ मनाइएको हो।
यो गाईजात्रालाई सफल बनाउन अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्र बहादुर श्रेष्ठ, वीरगञ्ज सपारु समितिका सचिव सुन्दर श्रेष्ठ, नेवा पुचका अध्यक्ष हरि वैद्य, सुनिल जोशी, अमृता वैद्य, रुपेशमान मानन्धर, निरज हरिमुल, तारामान श्रेष्ठ, हिराकाजी महर्जन, सुशील श्रेष्ठ लगायतका व्यक्तिहरूको विशेष भूमिका रहेको अध्यक्ष संजय जोशीले जानकारी दिए।