×

बारा। बाराको महागढीमाई नगरपालिका - १, बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पाँच वर्षमा एक पटक आयोजना हुने पञ्चवर्षीय मेला भोली मंसिर १७ गतेदेखि विधिवत् रूपमा सुरु भएको छ।

मेलाको तयारीका लागि गढीमाई मेला संचालन तथा व्यवस्थापन मुल समितिले विभिन्न उपसमितिहरू गठन गरेको छ।

शुक्रबार बसेको मुल समितिको बैठकले मेलाको सफल सञ्चालनका लागि नौ वटा उपसमितिहरू गठन गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मुल समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी दिए।

प्रचारप्रसार व्यवस्थापन उपसमितिको संयोजक रेशम तिवारीलाई तोकिएको छ भने जग्गा व्यवस्थापनमा जतिकर हुसेन चुरिहार, खानेपानी व्यवस्थापनमा विश्वनाथ प्रसाद कुशवाहा, मनोरञ्जन व्यवस्थापनमा गजेन्द्र जैसवाल, टेन्ट व्यवस्थापनमा चन्दन कुमार साह, विद्युत व्यवस्थापनमा प्रभु प्रसाद, पार्किङ व्यवस्थापनमा उपेन्द्र प्रसाद जैसवाल, बली व्यवस्थापनमा प्रम प्रसाद साह, र विपद व्यवस्थापनमा राम जनम प्रसाद यादव संयोजक रहेका छन्।

यो मेला दसैँको घटस्थापनाको दिन मन्दिरमा पूजासहित आरम्भ गरिएको थियो। मेलाको पूर्वसन्ध्यामा बाजा–गाजा, हात्ती, घोडा, ऊँट र विभिन्न झाँकीसहित हजारौँ भक्तजनको सहभागितामा शोभायात्रा पनि निकालिएको थियो। मेला व्यवस्थापन समितिले विशेष गरी भारतबाट ठूलो सङ्ख्यामा गढीमाई माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरूको आगमन हुने अपेक्षा गरेको छ।

नेपाल र भारतबाट लाखौँ श्रद्धालुहरूको सहभागिता रहने विश्वास गरिएको यस मेलामा सुरक्षा, सरसफाइ, यातायात, र स्वास्थ्यजस्ता आवश्यक व्यवस्थाहरूलाई पनि प्राथमिकतामा राखिएको छ।

Back to top