×

रौतहट। रौतहट प्रहरीले विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेको २५ वटा मोटरसाइकल फेला पारेको छ। ति सवारी साधनलाई प्रहरीले शनिबार गौर भन्सार कार्यालयमा बुझाएको हो।

चार्डपर्वलाई लक्षित गरी लागू गरिएको विशेष सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी र मातहतका अन्य निकायहरूबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा कागजपत्रबिनाका तथा बेवारिसे अवस्थामा रहेका २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।

डीएसपी रायका अनुसार २२ लाख रुपैयाँ मूल्य पर्ने ती मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालयमा बुझाइएको छ। “प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरूको ब्लुबुक छैन,” उनले भने, “कागजपत्र नभएकाले भन्सार बुझाएका हौं। सम्भवत: ति सबै सवारी चोरीका हुन्, जसबारे थप अनुसन्धान भइरहेको छ।”

यता, शुक्रबार साँझ राजदेवी नगरपालिका–६ पताहीबाट भन्सार छली ल्याइएका लत्ताकपडा र बिआर ०५एल ०७६९ नम्बरको भारतीय मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिई भन्सार कार्यालय गौरमा बुझाएको डीएसपी रायले जानकारी दिए।

प्रहरीको विशेष अभियानले जिल्लामा गैरकानुनी सवारीसाधन र अवैध सामानको ओसारपसारलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएको अधिकारीहरू बताउँछन्।

Back to top