×

वीरगञ्ज। छठ पर्वको अवसरमा वीरगञ्जका पोखरी तथा नदी घाटलाई विशेष रुपमा सिंगारिने कार्य सुरु भएको छ। महानगरका विभिन्न छठघाटलाई दुलहीझैँ सजाएर चिटिक्क बनाइएको छ। वीरगञ्जभित्र मात्र एक दर्जनभन्दा धेरै स्थानमा रहेको छठघाटमा आकर्षक सजावट गरिएको छ।

छठ पर्व मनाउन सर्वसाधारणले आफ्ना घरनजिकैका पोखरी तथा घाटमा गएर पूजा अर्चना गर्ने परम्परा रहिआएको छ। यसैले वीरगञ्जका बासिन्दाले घरनजिकै रहेका घाट र पोखरीलाई सफा गरी झकिझकाउ बनाएका छन्। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि छठ पर्वलाई व्यवस्थित र भव्य रुपमा मनाउनका लागि तयारीलाई तीव्र पारिएको जानकारी दिए।

महानगरका घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवा छठघाट विशेष सजावट र डेकोरेसनका साथ तयार पारिएको छ। यी स्थानमा मात्रै होइन, अन्य छठघाटहरूमा पनि आफ्नै शैलीमा सिंगार र सरसफाइ गरिएको छ। विशेष गरेर घडीअर्वा पोखरीमा आकर्षक सजावट गरिनुले नेपाली र भारतीय पर्यटकलाई समेत आकर्षित गर्ने बताइएको छ।

घडीअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दिलीप साह कानुले नेपालका काठमाडौं, पोखरा, नारायणघाट, बुटवल लगायतका शहर र सीमावर्ती भारतीय क्षेत्रबाट पनि पर्यटक आउने जानकारी दिए। ‘घडीअर्वा पोखरीको झिलीमिली सजावटले दर्शकको मन लोभ्याउँछ,’ उनले भने। उनका अनुसार घडीअर्वा पोखरीमा विगत २२ वर्षदेखि छठ पूजा मनाइँदै आएको छ र सजावटका लागि विशेष महत्व दिइन्छ।

सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले पोखरीलाई स्वच्छ राख्न विशेष ध्यान दिइएको र सरसफाइलाई प्राथमिकता दिइएको बताए। पोखरीमा जम्ने दियोबत्तीलाई हटाउन तथा डेंगु संक्रमण रोक्न महानगरले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान पनि चलाएको छ।

तराई मधेशका महिलाले छठ पर्व आफ्नो परिवार र सन्ततिको सुख, समृद्धि तथा स्वास्थ्यका लागि मनाउने गर्दछन्। यो पर्व कात्तिक शुक्ल चतुर्थीबाट आरम्भ भई सप्तमीसम्म मनाइन्छ। यस वर्ष मुख्य दिन षष्ठी तिथि कात्तिक २२ गते परेको छ।

Back to top