×

बारा । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मेला २०८१ लाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय बाराले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । मेलालाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले बुधवार आयोजित पत्रकार सम्मेलनमा सुरक्षा रणनीति प्रस्तुत गरेका हुन् ।

गढीमाई मन्दिर परिसरमा जारी मेलाका लागि एक हजार चार सय ६६ सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । मेलामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन कमान्ड पोस्ट स्थापना, मोबाइल गस्ती टोली, पिकेट र सादा पोसाकका सुरक्षाकर्मीहरूको व्यापक परिचालन गरिने एसपी खड्काले बताए । सुरक्षा निगरानीका लागि मेला क्षेत्रभर चार सय सिसिटिभी क्यामेरा जडान गरिएका पनि उनले जानकारी दिए ।

त्यस्तै एसपी खड्काले विशेष टोलीहरूमार्फत स्ट्राइकिङ अपरेसन, आकस्मिक उद्धार, ट्राफिक व्यवस्थापन र भिआइपी/भिभिआइपी सुरक्षाका छुट्टै व्यवस्थाहरू लागू गरिने बताए । साथै, मेला क्षेत्रका सवारी र पार्किङ व्यवस्थापनलाई सहज बनाउन विभिन्न पार्किङ स्थलहरू तोकिएको र वैकल्पिक मार्गहरूको व्यवस्था गरिएको उनको भनाइ छ।

सम्भावित जोखिम र चुनौती

प्रहरीले मेलामा चोरी, पकेटमारी, भीड व्यवस्थापन, महिलामाथि हिंसा, सवारी दुर्घटना, र रोगको फैलावट जस्ता सम्भावित चुनौतीहरूलाई ध्यानमा राख्दै सुरक्षा रणनीति तयार पनि पारेको छ । भारत र नेपालबाट पेशेवर अपराधीहरू सक्रिय हुन सक्ने जोखिमलाई समेत मध्यनजर गर्दै सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको एसपी खड्काले बताए ।

अत्यधिक भीडका कारण आकस्मिक दुर्घटनाहरू रोक्न आकस्मिक उद्धार टोलीहरू तयारी अवस्थामा रहनेछन् । मनोरञ्जन स्थलहरूमा हुन सक्ने जोखिम कम गर्न कडा सुरक्षा उपाय पनि लागू गरिएको उनले बताए ।

प्रविधि र समन्वयको प्राथमिकता

मेलाको सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिइएको छ । सिसिटिभी, ड्रोन क्यामेरा र विक्टर प्रणालीको प्रयोग गरी मेला क्षेत्रको निगरानी गरिने उनले जानकारी दिए । साथै, छिमेकी जिल्ला र भारतीय सीमावर्ती सुरक्षा निकायहरूसँग समन्वय गरी सीमा क्षेत्रको सुरक्षा मजबुत पारिएको खड्काले बताए ।

विशेष प्रावधान

मेलाको शान्ति र अनुशासन कायम गर्न मदिरा बिक्रीमा रोक, चन्दा सङ्कलनमा नियन्त्रण, तथा विना अनुमति ड्रोन क्यामेरा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । बलि दिने स्थानमा फोटो तथा भिडियो खिच्न पूर्णतः निषेध गरिएको छ । मेला वरपर जुवा खेलाउन र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाही गरिने बताइएको छ ।

एसपी खड्काले मेला दर्शनार्थीहरूलाई शान्तिपूर्ण रूपमा मेला मनाउन आग्रह गर्दै गढीमाई मेला नेपालकै ठूलो धार्मिक मेलामध्ये एक भएको उल्लेख गरे । मेलामा लाखौँ श्रद्धालु तथा पर्यटकहरूको उपस्थिति रहने भएकाले सुरक्षा संयन्त्रलाई सुदृढ बनाइएको र मेला सुरक्षित तथा व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

Back to top