वीरगञ्ज । “प्रेम सबैलाई गरौँ, घृणा कसैलाई नगरौँ” भन्ने मूल नारासहित ९ औँ वार्षिक जलसा सालाना समारोह पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनी भाट्ठामा सफलतापूर्वक सम्पन्न भएको छ ।
श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा अहमद सङ्घ नेपालका अध्यक्ष मोइन अहमदको अध्यक्षतामा विभिन्न धार्मिक गुरु, बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि र अहमदिया समाजका सदस्यहरूको उपस्थिति रहेको थियो ।
समारोहमा नेपालका विभिन्न जिल्लाबाट आएका अहमदिया समाजका सदस्यहरूका साथै पूर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी, पकहाँ मौनपुर गाउँपालिकाका अध्यक्ष सुरेश महतो, जसपाका नेता तवरेज अहमद, सिख समाजका धर्मगुरु हरमिद सिंह, ओम शान्तिका प्रवक्ता कुवेर कुमार, क्रिश्चियन समाजका प्रेम प्रसाद घिमिरे, र वडा अध्यक्षलगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
समाज सेवाका कार्यहरूको प्रशंसा
समारोहका वक्ताहरूले अहमदिया सङ्घ नेपालद्वारा विगत २७ वर्षदेखि सञ्चालन हुँदै आएको मानव सेवा र समाज सेवाका कार्यहरूको प्रशंसा गरे । “विश्वमा शान्ति स्थापनाका लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय छ,” अहमदिया सङ्घका सदस्य मोहम्मद नसिम खानले बताए ।
अहमदिया सङ्घले पर्साको विन्दवासिनी गाउँपालिकामा सञ्चालन गरेको श्री मसरुर पब्लिक आधारभूत विद्यालयमार्फत निःशुल्क शिक्षाको व्यवस्था समाज सेवाको अनुकरणीय उदाहरण भएको वक्ताहरूले उल्लेख गरे ।
कार्यक्रममा विभिन्न धर्मका गुरुहरूले संसारमा शान्ति र मानवताको स्थापनाका लागि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीले “प्रेम सबैलाई गरौँ, घृणा कसैलाई नगरौँ” भन्ने अहमदिया सङ्घको नारालाई विश्वभर फैलाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।
अहमदिया जमाअत: शान्ति र सेवाका लागि समर्पित
अहमदिया मुस्लिम जमाअतले २१६ देशमा मानव जातिलाई प्रेम, एकता र अध्यात्ममा बाँध्ने काम गरिरहेको छ । वर्तमानमा पाँचौँ खलीफा हजरत मिर्जा मसरूर अहमदको नेतृत्वमा रहेको यस जमाअतले धर्मका नाममा हुने हिंसा, अन्याय र आतङ्कलाई पूर्णतः अस्वीकार गर्छ ।
कार्यक्रमका प्रमुख उद्देश्यमध्ये धार्मिक सहिष्णुता, राष्ट्रिय एकता र मानवतावादी मूल्यमान्यताहरूको प्रवर्द्धन रहेको आयोजकहरूले जानकारी दिए । कार्यक्रमको सञ्चालन हासिम अहमदले गरेका थिए ।
समारोहका सहभागीहरूले यस्तो प्रकारका कार्यक्रमहरूले सबै धर्मका मानिसहरूबिच समझदारी र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरे । “संसारभर प्रेम र शान्तिको सन्देश फैलाउनका लागि यस्तो सम्मेलन जरुरी छ,” एक वक्ताले बताए ।