महागढीमाई । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरस्थित ऐतिहासिक गढीमाई मेला २०८१ लाई लक्षित गर्दै मेलालाई सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित बनाउन प्रहरी प्रशासनले सुरक्षा रणनीति अघि सारेको भए पनि मन्दिर व्यवस्थापन समितिको कार्यशैलीप्रति दर्शनार्थीहरू असन्तुष्ट बनेका छन् ।
गत बुधवार आयोजित पत्रकार सम्मेलनमा बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले मेलाका लागि सुरक्षा योजना प्रस्तुत गर्दै मेलालाई कुनै पनि खालको अवाञ्छित गतिविधिबाट सुरक्षित राख्न प्रहरी सतर्क रहेको बताएका थिए । तर, गढीमाई मन्दिरमा भिआइपी पासको नाममा आर्थिक ब्रह्मलुट भइरहेको गुनासो दर्शनार्थीहरूले गरिरहेका छन् ।
गढीमाई पञ्चवर्षीय मेलामा एक परिवारका लागि पाँच सय रुपैयाँमा भिआइपी पास काटेर ४ देखि ५ जना सदस्यले सहज रूपमा दर्शन गर्दै आएको परिपाटीलाई परिवर्तन गरी अहिले जनही पाँच सय रुपैयाँ असुल्न थालिएको छ । यस कदमले मेलामा आएका भक्तजनहरूलाई आर्थिक भार पारेको छ ।
भक्तजनहरूले यस आर्थिक असुलीलाई अव्यवस्थित र अन्यायपूर्ण भन्दै विरोध जनाएका छन् । केही भक्तजनका अनुसार, मेला व्यवस्थापन समितिले मुनाफा कमाउने उद्देश्यले यो निर्णय गरेको हुनसक्छ ।
स्थानीय प्रशासनले भने यस विषयमा चासो राख्नुपर्ने माग पनि उठेको छ । मेला व्यवस्थापन समितिले भक्तजनहरूको असन्तुष्टिलाई सम्बोधन गर्दै मेलाको व्यवस्थापन सुधार गर्न कदम चाल्नुपर्ने देखिन्छ ।
गढीमाई मेला धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । मेलाको शान्तिपूर्ण र सहज सञ्चालनका लागि सबै पक्षबाट जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको धारणा स्थानीयले व्यक्त गरेका छन् ।