×

वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा सुरक्षा सम्बन्धी परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार सम्पन्न कार्यक्रमलाई स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, शिक्षक, बुद्धिजीवी, स्थानीय पत्रकार र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाको – ३ मोजामिल अन्सारी, ४ का वडाध्यक्ष मोहम्मद आरिफ मियाँ, पटेर्वा सुगौली गाउँपालिका – ४ वडाध्यक्ष बासु पजियार, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी र सोही गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष दारा सिंहले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले पीडितहरूलाई लेखनदासको सहयोग नलिई निःशुल्क निवेदन लेख्न पाउने व्यवस्था, प्रहरी कार्यालयमा आउने उजुरी तथा मुद्दाहरूमा निष्पक्षता र त्वरित् न्याय सुनिश्चित गर्नुपर्ने, भारतबाट किसानहरूले ल्याउने बीउ, मल खाद तथा अन्य सामग्रीको सुरक्षामा प्रहरीको भूमिका प्रभावकारी बनाउनुपर्ने, हेलमेट बिना सवारी चलाउने तथा नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्नुपर्ने, लागूऔषध दुर्व्यसनको नियन्त्रण र युवाहरूलाई नशा सेवनमा फस्न नदिन सचेतनामूलक कार्यक्रमको आवश्यकता जस्ता विषय उठाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका सदस्य प्रमोद यादव, स्थानीय पत्रकार चिरञ्जीवी यादव, राम किशोर चौधरी, प्रधानाध्यापक हरिराज प्रसाद यादव र अन्य स्थानीय व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले सहभागीहरूले उठाएका विषयहरूप्रति गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै कार्यक्रमको सफल समापन गरे। यस प्रकारका छलफलले स्थानीय सुरक्षामा सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Back to top