×

मलंगवा । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूले राजनीतिक दलको समाचारलाई प्राथमिकता नदिई समाजमा लुकेका विकृति र विसङ्गतिहरू उजागर गर्न जोड दिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको समन्वयमा आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा आयोजित “एआई र साइबर सेक्युरिटी” सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम बिहीबार मलंगवाको होटेल सुजातामा सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखीले राजनीतिक कार्यक्रम र भाषणभन्दा नागरिक सरोकारका विषयहरू, जस्तै सरकारी बेथिति, ढिलासुस्ती, र कर्मचारी अनुपस्थितजस्ता समस्याहरू उजागर गरी समाधानमुखी समाचार लेख्न सञ्चारकर्मीहरूलाई निर्देशन दिए ।

मन्त्री लेखीले राजनीतिक दलहरू जिम्मेवार नभएको कारण सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । उनले एमाले, काँग्रेस, माओवादीजस्ता दलहरू इमानदार बनेमा मात्र सङ्घीयता सफल हुने र खाली भाषणले यो प्रणाली सुदृढ नहुने उल्लेख गरे ।

उनले माओवादी अध्यक्ष प्रचण्डमाथि कटाक्ष गर्दै तीन पटक प्रधानमन्त्री भएको अवधिमा सङ्घीयता सुदृढ गर्न नसकेको आरोप लगाए । साथै, झूटा आश्वासन र बयानबाजीले सङ्घीयता बलियो नहुने बताउँदै इमानदारिताका साथ काम गर्न दलहरूलाई आग्रह गरे ।

प्रदेश संरचना खारेज गर्ने आवाजप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखीले प्रदेश खारेज भए संविधान असफल हुने चेतावनी दिए । उनले संविधानलाई बलियो बनाउन सबै पक्षको सहभागिता र समर्थन आवश्यक रहेको बताए ।

मन्त्री लेखीले लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकारहरूको सम्मान गर्न र राज्यबाट प्रोत्साहन गर्न मधेस प्रदेश सरकारले चाँडै कार्यक्रम आयोजना गर्ने आश्वासन दिए ।

सञ्चार क्षेत्रमा कपिपेष्ट प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले सत्य, तथ्य र निर्भीकताका साथ समाचार तयार गरी समाजका लुकेका समस्या उजागर गर्न सञ्चारकर्मीहरूको सक्रिय भूमिकाको अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत पदाधिकारीहरूको सहभागिता थियो ।

दोस्रो सत्रमा “एआई र साइबर सेक्युरिटी” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहजीकरण र प्रशिक्षण नेपाली नेटवर्कका संस्थापक निर्देशक जीवन भण्डारीले गरेका थिए ।

कार्यक्रमले सञ्चार क्षेत्रमा प्रविधिको सही प्रयोग र पत्रकारिताको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

Back to top