वीरगञ्ज । पर्सा, जगरनाथपुर गाउँपालिका–४ स्थित पाडा बजारबाट सशस्त्र प्रहरीले एक ट्रक अवैध रुपमा भित्र्याइएका भैंसी र पाडा नियन्त्रणमा लिएको छ। स्थानीय बासिन्दाको सूचनाको आधारमा बिहीबार राति सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट भीखमपुरको टोलीले उक्त कारवाही गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङको नेतृत्वमा खटिएको टोलीले ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका ११ वटा भैंसी र ९ वटा पाडासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरू चरवाहा रहेको र उनीहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
भारतबाट भन्सार राजस्व छलेर अवैध रुपमा भित्र्याइएका भैंसी र पाडाहरू काठमाडौं पठाउने तयारी भइरहेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए। अनुसन्धानका क्रममा ती भैंसी र पाडाहरू जीतपुरका कारोबारी सदाब हुसेनको रहेको खुलेको छ।
स्थानीय बासिन्दाका अनुसार, सो रात पाडा बजारमा तीन वटा ट्रकमा १०० भन्दा बढी भैंसी र पाडाहरू लोड गरिँदै थियो। तीमध्ये दुई ट्रक प्रहरी पुग्नुअघि नै भाग्न सफल भएका छन्।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रकलाई शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ। तर, उक्त ट्रक छुटाउन केही वडाध्यक्षहरूले चलखेल गरिरहेको स्थानीयहरूले आरोप लगाएका छन्।
एक स्थानीय व्यक्तिले बताएअनुसार, जगरनाथपुर गाउँपालिकाका एक वडाध्यक्षले फर्जी सिफारिस पत्र बनाएर भन्सार कार्यालयमा पुगेको सूचना प्राप्त भएको छ। अवैध तस्करी रोक्न र संलग्नलाई कडा कारबाही गर्न सरोकारवालाहरूले सरकार र प्रशासनको ध्यानाकर्षण गराएका छन्।