×

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–४ मा सोलार प्यानल अनलोड गर्ने क्रममा सवारी दुर्घटनामा एक मजदुर घाइते भएका छन्। तराई सोलार प्यानल जडान गर्ने कम्पनीमा समान लिएर आएको जेसिबी (लोडर) ले कन्टेनरबाट सोलार अनलोड गर्ने क्रममा प्याकिङ खस्दा मजदुर घाइते भएका हुन्।

जिराभवानी गाउँपालिका–२ लमरिया निवासी २५ वर्षीय रामबाबु घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको र उपचारका लागि वीरगञ्जको एलएस न्युरो हस्पिटलमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार घाइते रामबाबुको स्वास्थ्य अवस्था सामान्य छ।

दुर्घटनापछि जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ निवासी २८ वर्षीय मोस्तुफा मियाँ मन्सुरीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ।

यस घटनाले निर्माणस्थलमा सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

Back to top