×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा माघी (खिचडी) पर्वको अवसर पारेर जिप र हात्ती सफारीसहित माघी तथा भाथा महोत्सव सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन थारु समुदायका ज्येष्ठ नागरिक परमेश्वर गौरोले मङ्गलवार गाउँपालिका वडा नम्बर ४ स्थित खेल मैदानमा गरेका हुन् ।

गाउँपालिकाले आयोजना गरेको महोत्सवको मुख्य उद्देश्य स्थानीय धार्मिक तथा पर्यटकीय स्थल भाथा धामको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धन गर्नु हो ।

महोत्सव स्थलमा थारु समुदायका परम्परागत खानाका परिकार, मौलिक पहिरन र भेसभुसासँगै ढकिया–पथिया, दुना–टपरी, नारी सुरक्षा सेनेटरी प्याड, कृषि औजारजस्ता स्थानीय उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन् । महोत्सवको पहिलो दिन मङ्गलवार रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष ममता महतोका अनुसार महोत्सवमा थारु लोकगीत र नृत्यसहितका सांस्कृतिक कार्यक्रम हरेक दिन आयोजना हुनेछन् ।

महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको प्रमुख धार्मिक पर्यटकीय स्थल दग्धेश्वरनाथ महादेव मन्दिर, भाथा धामसम्म पुग्न जिप र हात्ती सफारीको व्यवस्था गरिएको छ । महोत्सव स्थलदेखि भाथा धामसम्म जिप सफारीका लागि प्रतिव्यक्ति ६ सय रुपैयाँ र जिप तथा हात्ती दुवै सफारीका लागि १ हजार २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीका अनुसार भाथा धामको प्रचार-प्रसार गर्दै पर्यटकीय गतिविधिलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको हो ।

तीन दिने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ। उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, माघी मूल समारोह समितिका संयोजक मुकेश गौरो, पाँच वटै वडाका वडाध्यक्ष र थारु समुदायका अगुवाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

थारु समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्ने यो महोत्सवले स्थानीय र बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Back to top