फाईल फोटो
वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–२ स्थित सिंगयाही खोलाबाट अवैध रूपमा गिट्टी र बालुवा (मिक्स) उत्खनन गरेर बग्वाना तर्फ लैजाँदै गरेका दुईवटा ट्याक्टरलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलिका प्रमुख निरीक्षक (प्र नि) प्रकाश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले शुक्रबार बिहान उक्त ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।
पक्राउ परेका ट्याक्टरमध्ये ना.५ त.३१२८ नम्बरको बालुवा लोड ट्याक्टर चालक पर्सा पर्सागढी नगरपालिका–३ औराहाका २५ वर्षीय सरोज साह र प्र.-२-०३-००१ त १६८९ नम्बरको बालुवा लोड ट्याक्टर चालक पर्सागढी नगरपालिका–२ बग्वानाका २४ वर्षीय सन्दीप पटेल रहेका छन्।
प्रहरीका अनुसार, अवैध उत्खननमा संलग्न ट्याक्टरलाई कानूनी कारवाहीका लागि अस्थायी प्रहरी पोस्ट, मानवामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्र नि थापाले स्थानीय स्रोत साधनको संरक्षणका लागि अवैध गतिविधिहरू रोक्न प्रहरी गस्ती जारी राख्ने बताउनुभयो।