×

सर्लाही । नेपाली कांग्रेस सर्लाही अनुशासन समितिले कारबाही सिफारिस गरिएका पदाधिकारीहरूलाई हालसम्म कारबाही नगरेको भन्दै केन्द्रीय अनुशासन समितिको गम्भीर ध्यानाकर्षण गराएको छ।

उपसभापति तथा जिल्ला अनुशासन समिति संयोजक डा. सरोजकुमार, सचिवद्वय निरज कार्की र मनोजकुमार यादव, सहसचिव इन्द्रबहादुर योञ्जन, कोषाध्यक्ष विगुप्रसाद चौधरीसहित नेपाली कांग्रेसका ७० जना सदस्यद्वारा हस्ताक्षरित ज्ञापनपत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा बुझाइएको हो।

ज्ञापनपत्रमा २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा पार्टी र गठबन्धनका साझा उम्मेदवारहरूविरुद्ध प्रचारप्रसार गर्ने तथा पार्टी हितविपरीत कार्य गर्ने पदाधिकारीहरू उपर कारबाहीको माग गरिएको छ।

जिल्ला अनुशासन समितिले २०७९ कार्तिक २९, ३०, र मंसिर १ गते बसेको बैठकबाट विधान २०१७ (संशोधनसहित) को धारा ३४(ख) र (ग) अनुसार जिल्ला उपसभापति नवीन अधिकारीसहित केही व्यक्तिलाई पार्टीबाट निलम्बन गरी सोको जानकारी मधेश प्रदेश र केन्द्रीय कार्यालयलाई गराएको थियो।

मधेश प्रदेश समितिले २०८० भदौ ३० गते सर्लाही जिल्ला अनुशासन समितिको निर्णय सदर गरी कारबाही सिफारिस केन्द्रीय अनुशासन समितिमा पठाएको थियो। तर, पटक–पटक आग्रह गर्दा पनि केन्द्रीय अनुशासन समितिले उक्त सिफारिसलाई कार्यान्वयन नगरेको भन्दै सर्लाहीबाट आएका नेताहरूले केन्द्रीय नेताहरू समक्ष असन्तुष्टि व्यक्त गरेका छन्।

ज्ञापनपत्रमा केन्द्रीय अनुशासन समिति गम्भीर नभए जिल्ला कार्यसमिति लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ। साथै, आन्दोलनबाट उत्पन्न हुने परिणामको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेस केन्द्रीय कार्यालय र अनुशासन समितिले लिनुपर्ने उल्लेख गरिएको छ।

नेपाली कांग्रेसभित्र अनुशासन र आन्तरिक व्यवस्थापनको विषयले पुनः चर्को विवाद उत्पन्न गरिरहेको बेला सर्लाहीको यो ज्ञापनपत्रले पार्टी नेतृत्वलाई थप दबाब दिने देखिन्छ।

Back to top