×

वीरगञ्ज । पर्साको विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितिको पहिलो वार्षिक भेला शनिबार पर्सागढी नगरपालिका–३ बढनिहारमा डिभिजन वन कार्यालय पर्साको सहयोगमा भव्यताका साथ सम्पन्न भएको छ।

भेलाको उद्घाटन मधेस प्रदेश वन कार्यालय, जनकपुरका निर्देशक जगन्नाथ जैसवालले गमलामा पानी हालेर गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै जैसवालले वन संरक्षणमा उपभोक्ता समिति र स्थानीय तहको सहकार्यले ठूला उपलब्धि हासिल गर्न सकिने बताए। उनले चोरी तस्करी नियन्त्रण र अतिक्रमण रोक्नका लागि स्थानीयबासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै निजी वन व्यवस्थापनको महत्त्व र वातावरणीय सुरक्षा सुनिश्चित गर्नका लागि योगदान पुर्याउनुपर्ने बताउनु भयो।

कार्यक्रममा बाराको कोल्हवी नगरपालिकाका मेयर र मधेस प्रदेश महासंघका अध्यक्ष रामप्रसाद चौधरीले वन संरक्षणमा सबैको सहकार्य अपरिहार्य रहेको बताए। समितिका अध्यक्ष महमद रिजवानुल हक अन्सारीले वन चोरी तस्करी रोक्नका लागि सबैलाई सतर्क रहन आग्रह गर्दै समितिले जनताको दाउरा र काठको आवश्यकता पुरा गर्न सधैं तयार रहेको जानकारी दिए।

कार्यक्रमको अवसरमा साझेदारी वन उपभोक्ता समितिले वन संरक्षण कार्यमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानित पनि गर्‍यो। सम्मान प्राप्त गर्ने व्यक्तिहरूमा मधेसखबर अनलाइन न्युज पोर्टलका संवाददाता प्रमोद यादव, पत्रकार बलराम शुक्ला, तथा १५ जना अन्य सदस्यहरू थिए। नेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित सदस्य यादव र शुक्लालाई पत्रकारीताका माध्यमबाट वन संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो।

यस कार्यक्रमको समापनमा १० वर्षीय कार्ययोजना मधेस प्रदेशबाट स्वीकृत भएको उपलक्ष्यमा शुभकामना आदानप्रदान पनि गरियो।

कार्यक्रममा डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर हक अन्सारी, बारा डिभिजन वन कार्यालयका प्रमुख राजिव कुमार झा, साझेदारी वन समूहका पूर्व राष्ट्रिय अध्यक्ष रामरुप कुर्मी, सबैया साझेदारी वनका पूर्व अध्यक्ष लखनलाल साह, गढीमाई साझेदारी वन समूहका पूर्व अध्यक्ष शैलेन्द्र यादव लगायतका प्रमुख व्यक्ति उपस्थित थिए।

Back to top