वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण भेगमा यस वर्ष गहुँबालीमा किरा लागेको पाइएको छ। सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ प्रसौनीका किसान शम्भु यादवका अनुसार, गहुँ बालीलाई सिँचाइ गरी मलखाद छरेपछि किरा लाग्न थालेको हो।
यादवले यसअघि कहिल्यै यस्तो समस्या नदेखिएको बताउँदै भने, “सोना मन्सुली धान काटेर गहुँ रोप्दा यो पहिलोचोटी यस्तो समस्या देखिएको हो। समयमै किरा नियन्त्रणमा नआउँदा तथा रोगको रोकथाम नभए यस वर्ष गहुँबाली उत्पादनमा भारी कमी आउनेछ।”
यादवका अनुसार, गत वर्ष प्रति कठ्ठा १ क्विन्टल ५० किलो गहुँ उत्पादन भए पनि यस पटक त्यति उत्पादन नहुने संकेत देखिएको छ। किराले गहुँबालीको जराभित्र पसेर जरा काटिदिने र त्यसपछि बाली पहेँलो भएर सुकेर खस्ने अवस्था देखिएको उनले जानकारी दिए।
यादवले भने, “छिमेकका खेतमा यो समस्या नदेखिँदा चिन्ता थपिएको छ। किराले मेरो गहुँको जरा टुक्रा-टुक्रा पारेको देखिएको छ, तर कुन प्रकारको किरा हो र कुन किसिमको विषादी प्रयोग गर्नुपर्छ भन्ने जानकारी छैन।”
कृषि प्राविधिक र सरोकारवाला निकायहरूले समयमै हस्तक्षेप नगरे किसानहरूले ठूलो क्षति भोग्नुपर्ने अवस्थाको सिर्जना हुनसक्छ। यस विषयमा कृषि कार्यालयले तत्काल पहल गरी समस्याको समाधान खोज्न किसानहरूको अपिल छ।
यो समस्याले किसानहरूलाई गहुँ उत्पादन घट्ने चिन्तामा पार्दै आर्थिक संकट निम्त्याउन सक्ने खतरा छ।