×

वीरगञ्ज ।  पर्साको जगरनाथपुर र आसपासका सीमा क्षेत्रमा हड्डी, कुखुराका चल्ला, कपडा, किराना सामान, र अन्य वस्तुहरूको तस्करी व्यापक रूपमा भइरहेको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका केही अधिकारीहरूको मिलेमतोले तस्करीलाई थप सहज बनाएको स्थानीयहरूले बताएका छन् ।

जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिएको हड्डी स्क्रैप ट्रक र पिकअपमा लोड गरी प्रसौनीभाठा र अमरपट्टी सीमा क्षेत्रमा पुर्‍याइन्छ । त्यहाँबाट साइकल प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमा पार भारततर्फ पठाइन्छ । तस्करीमा अलि अहमद नामक व्यक्ति मुख्य संलग्न रहेको पाइएको छ । अहमदले धुतहा खोलाको पश्चिमी डिल हुँदै भारतको मुसहरवामा हड्डी स्क्रैप पठाउने गरेका छन् ।

अमरपट्टी नाकाबाट स्वरूप र सन्दीपको समूहले भारतीय सीमावर्ती गाउँहरूबाट कुखुराका चल्ला ल्याएर पर्साका ग्रामीण क्षेत्रमा सञ्चालित कुखुरा फर्महरूमा सप्लाई गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ । रातको समयमा मोटरसाइकल र पैदल भरियाको प्रयोग गरी चल्ला विभिन्न स्थानमा पुर्‍याइन्छ । अमरपट्टी, मधवल, झौवा, ईटियाही, र विश्रामपुर गाउँमा सञ्चालित झन्डै ८०–१०० कुखुरा फर्महरू तस्करीका चल्लामा निर्भर रहेको जनाइएको छ ।

पर्साको प्रसौनीभाठा नाकाबाट लखनपुरका रमेशसहितका समूहले बच्चाको दूध पाउडर, काजु, चकलेट, र अन्य भारतीय ब्रान्डका सामान तस्करी गरिरहेका छन् । धोरे नाकाबाट पनि कपडा, चकलेट, जुत्ता-चप्पल, र किराना सामानको तस्करी भइरहेको छ ।

स्थानीय स्रोतका अनुसार, तस्करीमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका केही उच्च अधिकारीहरूको मिलेमतो रहेको छ । स्रोतका अनुसार सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुशील बस्नेत, बोर्डर आउट पोस्ट (बिओपी) अमरपट्टीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रबिन ढुङ्गेल, बोर्डर आउट पोस्ट (बिओपी) प्रसौनीभाठाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम हरि रिमाल, प्रहरी चौकी अमरपट्टीका वरिष्ठ सई मदन बहादुर मल्ल र प्रहरी चौकी प्रसौनीभाठाका वरिष्ठ सई बाबुराम ढकाललगायतको तस्करी सञ्जालमा मिलेमतो छ । उनीहरूले आर्थिक लाभ उठाउँदै तस्करीमा सहयोग पुर्‍याइरहेको आरोप लगाइएको छ ।

  •  

तस्करी र सुरक्षाकर्मीको मिलेमतोले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ । स्थानीयहरूले तस्करीको विषयमा तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै, सीमा क्षेत्रमा निगरानी र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेको छ ।

Back to top