वीरगञ्ज । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगञ्ज भन्सार कार्यालयको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगरको सहकार्यमा आयोजित कार्यक्रम वीरगञ्ज भन्सार कार्यालयको गेटदेखि शंकराचार्य गेटसम्म विभिन्न ९० प्रजातिका बिरुवा रोपेर सम्पन्न गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने रहेका थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष संजय शर्माले गरेका थिए।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संघ-संस्था, समाजसेवी, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारी, जनप्रतिनिधि, र सामुदायिक सेवा केन्द्रका करिब २०० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा भन्सार प्रशासक दीपक लामिछानेले वृक्षरोपण जस्तो वातावरणीय संरक्षणसम्बन्धी क्रियाकलापले समाजलाई दीर्घकालीन लाभ पुर्याउने बताउँदै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक, राजेन्द्र ढुंगाना, लेखा अधिकृत हृदय नारायण साहलगायत भन्सार कार्यालयका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।
सशस्त्र प्रहरी बलका नायब उपरीक्षक लोकेन्द्र सुब्बाले सुरक्षा निकायको भूमिका केवल सुरक्षा मात्र नभई समाजको सकारात्मक गतिविधिमा सहभागी बन्नु पनि रहेको उल्लेख गरे।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार र सदस्यहरूले वृक्षरोपणलाई हरित समाज निर्माणको दिशामा एउटा महत्वपूर्ण कदमका रूपमा स्वागत गरेका थिए।