×

सर्लाही । झुटो वन मुद्दामा जनप्रतिनिधिलाई फसाउन खोजेको भन्दै नेकपा माओवादी केन्द्र सर्लाहीले आइतबार मोटरसाइकल र्‍यालीसहित डिभिजन वन कार्यालयको घेराउ गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट सहभागी भएका सुकुम्बासी, स्थानीय बासिन्दा र माओवादी केन्द्रका नेता-कार्यकर्ताहरूले नाराबाजीसहित लालबन्दीस्थित डिभिजन वन कार्यालय घेराउ गरेका हुन्।

डिभिजन वन कार्यालयले बागमती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल, नगर बगैँचा र सुकुम्बासी व्यवस्थापनसम्बन्धी गतिविधिमा मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तानसहित केही कर्मचारीविरुद्ध मुद्दा दर्ता गर्न लागेको विरोधमा प्रदर्शन भएको हो।

माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेले उक्त मुद्दालाई कपोकल्पित र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाउँदै जनप्रिय मेयर र उपमेयरलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताए।

पूर्व-पश्चिम राजमार्गमा पुतलीचोकदेखि फुलजोर खोलासम्म सयौँ मोटरसाइकलको र्‍यालीसहित विरोध प्रदर्शन गरिएको थियो। मोटरसाइकल र्‍यालीपछि केही समय लालबन्दीस्थित डिभिजन वन कार्यालयलाई घेराउ गरेर प्रदर्शनकारीहरूले आफ्नो विरोध व्यक्त गरे।

माओवादी केन्द्रले स्थानीय सरकारले सुकुम्बासी व्यवस्थापनका लागि गरिरहेको प्रयासलाई अतिरञ्जित बनाएर झुटा मुद्दा लगाउन खोजिएको दाबी गरेको छ। पार्टीका स्थायी कमिटी सदस्य प्रल्हाद बुडाथोकीले स्थानीय सरकारको विकास प्रयासलाई रोक्न खोज्नेहरूप्रति कडा संघर्षमा जाने चेतावनी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मेयर थापा र उपमेयर मोक्तान हाल निलम्बित अवस्थामा छन्।

माओवादी केन्द्रका अनुसार बागमती नगरपालिकाले बागमती नदीले छाडेको जमिनलाई तालमा रूपान्तरण गरेर पर्यटन प्रवर्द्धन र आयआर्जनको लागि प्रयोग गर्न खोजेकोमा सरकारी निकायहरूले षड्यन्त्र रचेको आरोप छ।

पार्टीले झुटा मुद्दा तुरुन्त खारेज गर्न माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ। यदि षड्यन्त्र नरोकिए आन्दोलनलाई थप सशक्त बनाउँदै मशाल जुलुस, जनसभा, आम हड्तालजस्ता कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।

माओवादी केन्द्रले सुकुम्बासी व्यवस्थापन र स्थानीय सरकारको विकासका गतिविधिहरूलाई देख्न नसक्ने प्रवृत्तिविरुद्ध संघर्ष जारी राख्ने स्पष्ट पारेको छ।

Back to top