×


वीरगञ्ज । बिन्दबासिनी गाउँपालिकालाई कुष्ठरोग मुक्त पालिका घोषणा गर्नका लागि व्यापक सचेतनामूलक अभियान सञ्चालन गरिने भएको छ। ७२ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार गाउँपालिका–२, गर्दौलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले पालिकालाई कुष्ठरोगमुक्त बनाउने प्रतिज्ञा गर्दै लिखित प्रतिबद्धता जनाएका हुन्।

अभियान अन्तर्गत नयाँ कुष्ठरोगीहरूको पहिचान, उपचार र हाल उपचाररत रोगीहरूको उचित व्यवस्थापन गरिनेछ। अध्यक्ष तिवारीले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक रकम विनियोजन गर्ने वाचा पनि गरेका छन्।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले पालिकालाई कुष्ठरोग मुक्त बनाउन जनप्रतिनिधि र अगुवाहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले बिन्दबासिनी गाउँपालिकामा नयाँ कुष्ठरोग प्रभावितको दर अन्य पालिकाभन्दा बढी रहेको जानकारी गराउँदै यस विषयमा सबैको ध्यानाकर्षण आवश्यक रहेकोमा जोड दिए।

डा. साहले कुष्ठरोग समाजमा रहिरहेको भ्रम तोड्दै रोग सर्ने नभई समयमै उचित उपचार गरेमा पूर्ण रूपमा निको हुने बताए।

दी लेप्रोसी नेपालका पर्सा जिल्ला संयोजक रामहरि रेग्मीका अनुसार बिन्दबासिनी गाउँपालिकामा ३५ जना कुष्ठरोग प्रभावित छन्, जसमा नयाँ १२ जना हाल उपचाररत छन्।

कार्यक्रमका क्रममा अध्यक्ष तिवारीले कुष्ठरोग प्रभावितहरूको सूची दर्ता भएका दुबै संस्थालाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

गाउँपालिका अध्यक्ष तिवारीको अध्यक्षता र स्वास्थ्य कार्यालय प्रमुख साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामबाबु साह, कृषि अधिकृत रविन्द्र तिवारी, स्थानीय अगुवा, जनप्रतिनिधि, कुष्ठरोग प्रभावित र अन्य सरोकारवालाहरूको उपस्थिति थियो।

सचेतनामूलक अभियानले पालिकालाई कुष्ठरोगमुक्त बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Back to top