×

वीरगञ्ज । वीरगञ्जस्थित जीएचपी माध्यमिक विद्यालयले आफ्नो ३१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले शनिवार आफ्नै परिसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

विद्यालयकी प्रधानाध्यापक रोमी कौरका अनुसार, कार्यक्रममा विद्यालयका १ हजार ५ सय भन्दा बढी विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिमा सहभागिता जनाएका थिए भने करिब ३ हजार अभिभावक तथा अतिथिहरू उपस्थित भएका थिए ।

कार्यक्रमको अध्यक्षता रामिन्दर कौरले गरेकी थिइन् भने वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथि रहेका थिए ।

वार्षिकोत्सव अवसरमा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, नाटक लगायतका मनोरञ्जनात्मक एवं सचेतनामूलक प्रस्तुतिहरू दिएका थिए । विद्यार्थीहरूले सामाजिक विषयवस्तुमा आधारित नाटक र सांस्कृतिक कार्यक्रममार्फत विभिन्न सन्देशसमेत दिएका थिए । विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरू पछिल्लो एक महिनादेखि निरन्तर तयारीमा जुटेका थिए ।

विद्यालयका प्रधानाध्यापक कौरले विद्यालयको ३१ वर्षे यात्रामा विद्यालयको शैक्षिक स्तर, विद्यार्थीहरूको उपलब्धि र भविष्यको योजनाबारे चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने बताइन् ।

विद्यालय व्यवस्थापन समितिले वार्षिकोत्सवलाई ऐतिहासिक बनाउन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ ।

त्यसै गरी, कार्यक्रमलाई विशेष गरिमा दिन मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक साख्य, परीक्षा विभाग प्रमुख गोपाल शाह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, परवानीपुर गाउँपालिकाका अध्यक्ष राम शास्त्री प्रसाद कुर्मी, जिल्ला शिक्षा अधिकारी मोतीप्रसाद भट्टराई, प्रसौनी गाउँपालिकाका प्रमुख विनोद प्रसाद जयसवाल, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तिया, सखुवा प्रसौनीका प्रमुख यशवन्त यादव तथा यात्रा डेलीका सञ्चालक राम सर्राफ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

Back to top