वीरगञ्ज । पर्सागढी नगरपालिका–५ पचरूखीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुअर्वासिरामा मावि तहको शिक्षक नियुक्ति प्रक्रिया स्थगित भएको छ । विद्यालयले गणित विषयको शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएपछि स्थानीय अभिभावकहरूको विरोधका कारण सूचना स्थगित गर्नुपरेको हो ।
सङ्घीय सरकारबाट हस्तान्तरित सशर्त अनुदानको आधारमा मावि तहको नेपाली, अङ्ग्रेजी र गणितमध्ये एक विषयको पदपूर्ति गर्नुपर्ने थियो । तर, विद्यालयले शिक्षा नियमावली विपरीत गोप्य रूपमा गणित विषयको शिक्षक नियुक्त गर्न लागेको आरोप स्थानीयले लगाएका छन् ।
विद्यालय व्यवस्थापन समितिले माघ २ देखि १६ गतेसम्म दरखास्त दिने र माघ १८ गते सम्पर्क मिति रहेको सूचना जारी गरेको थियो । तर माघ १० गतेसम्म पनि कतै सूचना टाँस नगरिएकाले स्थानीयले विरोध जनाएका थिए । विरोधपछि सूचना टाँस गरिएको भए पनि सम्पर्क मिति सकिएपछि पनि दरखास्त दिएका उम्मेदवारहरूको नाम सार्वजनिक नगरिएको अभिभावकहरूले बताएका छन् ।
स्थानीय अभिभावकहरूले निमित्त प्रधानाध्यापक शम्भु साहसँग उम्मेदवारहरूको नाम सार्वजनिक गर्न आग्रह गर्दा पनि उनले अस्वीकार गरेका थिए । अन्ततः विद्यालय व्यवस्थापन समितिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको अभिभावक जगत रामले जानकारी दिएका छन् ।
स्थानीय राजेश्वरप्रसाद यादवले विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समिति (विव्यस) र शिक्षा शाखाको मिलेमतोमा गोप्य रूपमा शिक्षक नियुक्त गर्न खोजिएको दाबी गर्दै त्यसको विरोधमा सूचना स्थगित भएको बताए ।
विद्यालयका विद्यार्थीहरूले विज्ञान विषयको शिक्षकको माग गरिएको ठाउँमा गणित विषयको लागि विज्ञापन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
निमित्त प्रअ शम्भु साहले शिक्षक नियुक्ति प्रक्रिया नियम अनुसार नै भएको दाबी गरेका छन् । तर स्थानीयको विरोधपछि विद्यालय व्यवस्थापन समितिले अनिश्चित कालका लागि नियुक्ति प्रक्रिया स्थगित गरेको उनको भनाइ छ ।
नगरपालिकाको शिक्षा शाखा प्रमुख देवप्रसाद गिरीले पालिकाले अङ्ग्रेजी, गणित वा विज्ञानमध्ये कुनै एक विषयको रिक्त दरबन्दी भएको विद्यालयमा कोटा निर्धारण गरी पदपूर्तिको सहमति दिएको स्पष्ट पारे । तर विद्यालयले नियम विपरीत नियुक्ति प्रक्रिया अघि बढाएको भन्दै स्थगित गरिएको जानकारी दिए ।
पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयहरूमा रिक्त पदमा दरबन्दी मिलानको विषयमा पटक-पटक विवाद हुँदै आएको स्थानीयले बताएका छन् ।