×

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–२, मकवानी टोलमा घाँस काट्ने क्रममा जंगली बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाइते महिला सोही स्थानका ३५ वर्षीया चाँदनी देवी रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । 

उनका अनुसार ७ बिघा भन्ने स्थानमा घाँस काट्दै गर्दा अचानक बाघ आएको थियो । बाघले चाँदनी देवीलाई आक्रमण गरी बायाँ हातमा गम्भीर चोट पुर्‍याएको छ ।

घटनापछि स्थानीयबासीले उनलाई उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ, र आवश्यक उपचार भइरहेको छ ।

यसैबीच, घटना भएलगत्तै बाघ जंगलतर्फ फर्किएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यस क्षेत्रमा विगत केही महिनायता जंगली जनावरहरूको आक्रमण बढ्दै गएकाले स्थानीयहरू त्रसित छन् ।

प्रहरी तथा वन कार्यालयले स्थानीयलाई सचेत रहन आग्रह गर्दै जंगल नजिक नजान र वन्यजन्तु देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको छ ।

Back to top