×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका – १ पिपरा टोलमा शनिवार राति ९ बजेको समयमा आगलागीको घटना भएको छ । स्थानीय शिवशङ्कर गिरीको फुसको घरमा विद्युत् सर्ट भएर आगो लागेपछि ठूलो क्षति भएको हो ।

प्रहरीका अनुसार, आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, बर्तन र अन्य घरेलु सामग्रीहरू जलेर पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय सेढवा र महादेवपट्टी प्रहरी चौकीका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए ।

प्रहरी नायब निरीक्षक राजाराम यादवका अनुसार, आगो फैलिन नदिन र नियन्त्रणमा लिन स्थानीयवासी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका टोलीहरूले सक्रियता देखाए । संयुक्त प्रयासबाट आगो फैलिनुबाट रोकिएको र ठूलो क्षतिको अवस्था नआएको उनले बताए ।

घटनामा जनमालको क्षति नभए पनि घरमा रहेका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएको र पीडित परिवारलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीय स्तरबाट चिन्ता व्यक्त गरिएको छ ।

प्रहरीले आगलागीको कारणको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ ।

Back to top