×

वीरगञ्ज । ठोरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत (निमित्त हाकिम) धर्मराज थापामाथि योजनाबाट कमिसन लिएको आरोप लागेको छ । स्रोतका अनुसार उनले गाउँपालिकाबाट सञ्चालित विकास निर्माण योजनाबाट मोटो रकम असुल्ने गरेका छन् ।

नाम नछाप्ने सर्तमा एक ठेकेदारले बताएअनुसार, “काम सुरु हुनुअघि नै कमिसन बापतको रकम बुझाउनुपर्छ, अन्यथा बिल पास हुँदैन । चेक हातमा पाउनु अगाडि नै उनले कमिसन माग्ने गरेका छन्,” उनले आरोप लगाए ।

राजनीतिक पहुँच र आर्थिक प्रभावको उपयोग गर्दै पटक-पटक निमित्तको म्याद थप गराउन सफल भएका थापाले भ्रष्टाचारको सञ्जाल खडा गरेको दाबी गरिएको छ । यसअघि जिल्ला विकास समिति पर्सामा कार्यरत रहँदा पनि उनीमाथि अनियमितताको आरोप लागेको थियो ।

तर, प्रमुख प्रशासकीय अधिकृत थापाले भने आफूले कुनै कमिसन नलिएको दाबी गरेका छन् । “यो आर्थिक वर्षको ९ महिनासम्ममा गाउँपालिकामा एउटा मात्र तालिम सञ्चालन गरिएको छ,” उनले स्पष्ट पारे ।

उनका अनुसार महिला हिंसा तथा दुर्व्यसन नियन्त्रणसम्बन्धी मात्र १ लाख रुपैयाँको तालिम आयोजना गरिएको छ, अन्य कुनै तालिम वा कार्यक्रम सञ्चालन भएको छैन ।

थापाले गाउँपालिकाका विकास योजना उपभोक्ता समितिमार्फत हुने भएकाले “६०/४० को कमिसनको कुरा असम्भव छ,” भन्दै आरोपको खण्डन गरेका छन् । यस विषयमा थप अनुसन्धान हुनुपर्ने आवाज उठ्दै गएको छ ।

Back to top