×

वीरगञ्ज । किसानहरूका लागि ठूलो सुविधा प्रदान गर्ने उद्देश्यसहित पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रङ्गपुरमा अत्याधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ ।

किसानहरूका उत्पादन सङ्कलन, बिक्री वितरण तथा भण्डारणलाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारको सहयोगमा १ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त केन्द्र मङ्गलवार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा मन्त्री क्षेत्रीले मधेस प्रदेशलाई कृषि बीउ बिजन उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको उल्लेख गर्दै, यस दिशामा मन्त्रालयले प्रभावकारी कार्य गरिरहेको जानकारी दिए । उनले पटेर्वा सुगौली गाउँपालिकालाई आगामी वर्ष प्रदेशकै उत्कृष्ट पालिका बन्न सक्ने गरी योजना बनाउन सुझावसमेत दिए ।

प्रदेश सरकारको कृषि ऐन अनुसार किसानहरूलाई प्राकृतिक विपद्का कारण हुने क्षतिको क्षतिपूर्ति, समयमै प्राविधिक सहायता, एकीकृत कृषि सेवा केन्द्र तथा कृषक महिला स्वयंसेविका परिचालन जस्ता कार्यक्रमहरू लागू गरिने उनले बताए । साथै, हरेक पालिकामा कृषि सूचना केन्द्र स्थापनाको लक्ष्य रहेको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीका अनुसार आधुनिक कृषि बजारभित्र किसानहरूले उत्पादन गरेको तरकारी सङ्कलन तथा बिक्री वितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा सार्वजनिक शौचालय तथा कम्पाउन्ड वाल निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष ममता महतोका अनुसार, कृषकहरूको सहजताका लागि १९ लाख १९ हजार रुपैयाँको लागतमा १ मेट्रिक टन क्षमताको मिनी कोल्ड स्टोर (चिस्यान केन्द्र) पनि सञ्चालनमा ल्याइएको छ । साथै, महिला किसान तथा उपभोक्ताहरूको सुविधा ध्यानमा राख्दै केन्द्रभित्र स्तनपान कक्षसमेत निर्माण गरिएको छ ।

गत वैशाख १९ गते शिलान्यास गरिएको यो परियोजना आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण कार्य सम्झौता अवधि भन्दा पाँच महिना अगावै पूरा गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष चौधरीले आगामी आर्थिक वर्षमा वडा नम्बर ४ र ५ मा पनि यस्तै आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिने जानकारी दिए । उनले कृषि क्षेत्रमा स्थानीय सरकारको प्रतिबद्धता झल्किने गरी आगामी दिनमा थप नवीन परियोजनाहरू सञ्चालन गरिने उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडाध्यक्षहरू विजय गैरे, माधव राउत थारु, वासु पञ्जियार, विपिन मुखिया बिन, कार्यपालिका सदस्यहरू शिव बालक ठाकुर, सजिना रसाइली, मिना देवी मुसहेरिन्, काँग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चौहान, गिरीराज कँडेल लगायतको उपस्थिति थियो ।

Back to top