वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा शिवरात्रिदेखि सुरु भएको १० दिने मेलामा व्यापक अनियमितता भएको प्रमाण फेला परेको छ ।
ठेकेदारले नियम विपरीत व्यवसायीहरूबाट बढी शुल्क असुली गरेको पाइएको छ भने मेला व्यवस्थापन फितलो भएको गुनासो आएको छ ।
मेला व्यवस्थापनका लागि ठेक्का सम्झौताअनुसार स्टल बुकिङ र व्यापारिक पसलहरूका लागि निश्चित शुल्क तोकिएको । तोकिएको शुल्क अनुसार स्टल बुकिङ गर्न प्रति वर्ग फुटका लागि प्रति दिन १० रुपैयाँ तिर्नुपर्ने छ, त्यस्तै तरकारी पसल सञ्चालन गर्न प्रति पसल २० रुपैयाँ तिर्नुपर्ने छ भने चुरा पसल सञ्चालित गर्न पनि २० रुपैयाँ तिर्नुपर्ने छ ।
त्यस्तै सानो रेडिमेड पसल थाप्न प्रति दिन ५० रुपैयाँ तिर्नुपर्ने छ भने ठूलो रेडीमेड पसल थाप्न प्रति दिन एक सय रुपैयाँ तिर्नुपर्ने छ । सोही अनुसार, माछा बेच्ने पसल थाप्न प्रति दिन ५० रुपैयाँ र माछा, मासु र मदिरासहितको होटेल थाप्न प्रति पसल पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।
यद्यपि व्यवसायीहरूले ठेकेदारले तोकिएको भन्दा तेब्बर रकम असुल गरेको आरोप लगाएका छन् । व्यवसायीहरूका अनुसार ठेकेदारले करिब एक दर्जन मानिस परिचालन गरी अवैध रूपमा एक सयदेखि दुई सय रुपैयाँसम्म अतिरिक्त रकम असुल गरिरहेका छन् । साथै, मेलामा बिजुली बत्तीको सुविधा नहुँदा पनि व्यवसायीहरूबाट ठुलो रकम असुल गरिएको गुनासो आएको छ ।
मेला हेर्न नेपाल र भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुहरूसँग पनि ठेकेदारले पार्किङ शुल्कको नाममा अनधिकृत रूपमा बढी रकम असुल गरेको पाइएको छ । ठेक्का सम्झौताअनुसार श्रद्धालुहरूले ५० रुपैयाँ पार्किङ शुल्कको बिल देखाएपछि ठेकेदार ओमप्रकाश मुखिया मौन बसेका थिए । उनले १२ लाख रुपैयाँमा ठेका लिएको कारण आफूले व्यवसायी र पार्किङ शुल्कमा बढी रकम असुल गरेको स्वीकार गरेका छन् ।
मेला परिसरभित्रै सुरक्षाकर्मीहरूको उपस्थितिमा खुलेआम जुवा तास चलिरहेको पाइएको छ । मेला व्यवस्थापनका लागि खटिएका सुरक्षाकर्मीहरू नै जुवामा संलग्न भएको दृश्य देखेर श्रद्धालुहरू आश्चर्यचकित भएका छन् । स्थानीय स्रोतका अनुसार ठेकेदारले जुवा खेलाउनेहरूबाट मोटो रकम लिएर जुवा तास सञ्चालन गरिरहेको छ ।
एक अभिभावकका अनुसार साना बालबालिकाहरू समेत जुवामा पैसा हार्ने गरेका छन्, जसले मेलाको वातावरणलाई थप नकारात्मक बनाएको छ । सरोकारवाला निकाय मौन बसेकोले आर्थिक चलखेल भएको आशङ्का गरिएको छ ।
मेलामा जेरी, मिठाई, भजिया, अण्डाजस्ता खाद्य वस्तुहरू धुलामय सडकमा नै बिक्री भइरहेको छ । साथै, सुँगुर, कुखुरा, खसीको मासु समेत अव्यवस्थित तरिकाले बिक्री वितरण भइरहेको पाइएको छ । ठेकेदारले सडकमा पानी छर्ने जिम्मेवारी पाए पनि त्यो नगरेका कारण मेलाभरि धुलै–धुलो भएको छ ।
नेपाल र भारतबाट आएका श्रद्धालुहरू मेलाको अव्यवस्थित अवस्था देखेर निराश भएका छन् । जगरनाथपुरबाट मेलामा सहभागी भएका एक व्यवसायीले मेला समितिका व्यक्तिहरूले जबरजस्ती पैसा उठाउने गरेको गुनासो गरेका छन् ।