रौतहट । रौतहटको गौर राइस मिल बचाउ अभियान संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ। आइतबार प्रदर्शनकारीहरूले सदरमुकाम गौरको नेपाल लज चोकमा टायर बालेर विरोध जनाएका छन्।
समितिले गौर राइस मिलको जग्गाको रक्षाको माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम अघि बढाउँदै आएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले राइस मिल बचाउ भन्दै नाराबाजी गरेका थिए ।
संघर्ष समितिका प्रतिनिधिहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । उनीहरूले गौर राइस मिलको जग्गा भूमाफियाहरूको चंगुलबाट जोगाउन सरकारले विशेष पहल गर्नुपर्ने माग राखेका छन् ।
प्रदर्शनका कारण केहीबेर सडक अवरुद्ध भएको थियो । घटनास्थलमा प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ ।